पाँचथर : नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरले जिल्लाका आठ वटै स्थानीय तहमा स्थानीय तहस्तरीय कमिटी गठन सम्पन्न गरेको छ ।
संघले फिदिम नगरपालिका सहित सात वटै गाउँपालिकाहरुमा कमिटी गठन गरी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा ६० वटै वडामा वडा कमिटीका अध्यक्ष र सचिव चयन गरेको हो । वैशाक ३ गतेबाट पालिकास्तरीय युवा भेला तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरी बैशाक १२ गते उक्त कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले जानकारी दिए।
राष्ट्रिय युवा संघले फिदिममा ऋतुवर्ण तुम्बापोको अध्यक्षतामा ९१ सदस्यीय नगर कमिटी गठन गरेको छ । यस्तै फाल्गुनन्दमा सुरेन्द्र नेम्वाङको अध्यक्षतामा ६५ सदस्यीय, मिक्लाजुङमा कुमार खड्काको अध्यक्षतामा ८५ सदस्यीय, तुम्बेवामा निरसिंह खत्रीको अध्यक्षतामा ७७ सदस्यीय र कुम्मायकमा खगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा ६९ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको युवा संघले जनाएको छ ।
यस्तै हिलिहाङमा सूर्य योङहाङको अध्यक्षतामा १११ सदस्यीय, याङवरकमा इश्वरी खरेलको अध्यक्षतामा १५१ सदस्यीय र फालेलुङमा मचिन्द्र जबेगूको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको संघका जिल्ला अध्यक्ष थपलियाले जानकारी दिनुभयो । संघले सबै स्थानीय तहका सेवा केन्द्र वा सोको नजिकैका स्थानमा भेला तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो ।
राष्ट्रिय युवा संघका सचिव रामकाजी वान्तवा, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विनोद आङदेम्बे, केन्द्रीय सदस्यहरु शान्ति राई, वीरेन्द्र मङ्ग्राती सहित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु तथा एमालेका नेताहरुको उपस्थितिमा भेलाहरु सम्पन्न भएको राष्ट्रिय युवा संघ पाँचथरका सचिव देवेन्द्र राईले बताए ।-मेची पोस्टबाट