इलाम अस्पतालको दुरावस्थाले इलामेली नै लज्जित

  नयाँ बुलन्द
5.5k Shares

 इलाम अस्पतालको दुरावस्थाले इलामेली नै लज्जित

इलाम । १४ जना स्थायी डाक्टरको दरबन्दी रहेको इलाम जिल्लाको इलाम अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध नहुँदा सेवाग्राही मारमा परेका छन् ।

जिल्लाको एक मात्र यति धेरै विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालको रुपमा इलाम अस्पताल रहेपनि हाल एकजना स्थायी डाक्टर र चारजना करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । स्थायी रहेका डाक्टर समेत इलाम काजमा रहेका छन् उनको दरबन्दि जिल्ला बाहिर रहेको र अन्य भने छात्रबृत्ति कोटामा करार सेवामा रहेको अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले बताउनु भयो । नौं जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० श्ययाको अस्पतालमा विशेषज्ञ डाक्टरहरुको अभावमा सेवा प्रभाव चुस्त हुन सकेको छैन ।

यतिबेला विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । दैनिक ५० जनाको हाराहारीमा ओपिडीका बिरामी जाँच्ने, भिडियो एक्सरे गर्ने, सुरक्षित गर्भपतन गर्ने, शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुई पटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्याण्डल गर्ने , इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने सम्मका काम यिनै सिमित डाक्टरहरुले गनुपर्ने बाध्यता रहेको छ ।

सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि १४ जना डाक्टरको दरबन्दी भएको ठाँउमा सीमित केहीले मात्र काम गरिरहनुपरेको कारण रेफर सेन्टर जस्तो मात्र रहेको इलामेली नागरिकहरुको भनाइ छ । अस्पतालमा डाक्टर र कर्मचारी गरेर ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल २७ जनामात्र कार्यरत रहेका छन् । ५० शैया क्षमताको इलाम अस्पतालमा भौतिक संरचना भएपनि डाक्टरको अभावमा इलामे नागरीकहरु उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भइरहेका छन् ।

चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हुँदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन । इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा सहज बनाउन ठूलो भवन र शड्ढया थप गरे पनि सामान्य बिरामी हुदा पनि अन्यत्र जानुपर्ने बाध्यता छ यहाँका नागरिकहरुको । इलामबाटै प्रतिनिधित्व गरेका नेकपा एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री, सुवास नेम्बाङ सभामुख भए तर पनि गृह जिल्लावासी भने सामान्य उपचारका लागि पनि झापाका महँगा निजी अस्पताल वा भारतका अस्पतालसम्म जानुपर्ने बाध्यता कायमै छ । इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको स्थानीयहरु बताउँछन् । ठूला नेताहरूको गृह जिल्लामा रहेको अस्पतालको दुरावस्थाले इलामेलीलाई नै लज्जित बनाएको छ । हिमालय टाइम्सबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार