
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताउनु भएको छ । शुक्रबार राजधानीमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उहाँले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताउनु भयो ।
‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भन्नुभयो,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ उहाँले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पार्नुभयो । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताउनु भयो ।
नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उहाँले बताउनु भयो । रावलले भन्नुभयो,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने उहाँको जिकिर थियो । उहाँले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गर्नुभयो । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ओलीलाई चुनौती दिदै रावलले भन्नुभयो,‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाउनु् भयो । उहाँले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’
आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए । उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’
ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिनुभयो । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाउनु भयो ।






















































