इलाम : पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।
यता इलाममा भने सदरमुकाममा ७ देखि ११ सम्म र सदरमुकाम बाहिरका स्थानीय तहमा ८ र ९ गते खोप लगाइने भएको छ । भएको कोरोना खोप समन्वय समितिको आइतबारको बैठकले सदरमुकाममा इलाम अस्पताल केन्द्र र सदरमुकाम बाहिरका स्थानीय तहमा सम्बन्धित स्वास्थ्य संस्थाका खोप केन्द्रमार्फत नै कोरोना खोप लगाउने निर्णय गरेको छ ।
खोपका लागि लगभग आवश्यक तयारी पूरा भएको कोरोना खोप समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई पुग्ने गरिको खोप सोमबार इलाम अस्पताल आइपुग्नेछ ।
वैसाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ को राष्ट्रिय अभियान भएको र तुलनात्मक रुपमा कम भएकाले ८ र ९ का लागि तयारी गर्ने निर्णय गरिएको संयोजक खड्काले जानकारी दिए । इलाम नगरपालिकामा भने इलाम अस्पताल केन्द्रमार्फत ७ गतेदेखि नै खोप लगाइनेछ । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएकाले खोप कार्ड लिएर सम्पर्क गर्न सरकारले अनुरोध गरिएको छ ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइनेछ ।
ज्वरो जाँच गरेमा मात्र जिल्ला प्रवेश
यस्तै बैठकले इलाममा समेत कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउने निर्णय गरेको छ । छिमेकी मुलुक भारतसँगको सीमा नाका पशुपतिनगरमा ज्वरो नाप्ने र देखिएकाहरुलाई अभिलेख गर्ने काम आइतबारदेखि नै सुरु गरिएको छ ।
त्यस्तै झापा र इलामको सीमा नाका रोङ गाउँपालिकाको जोरकलसमा सोमबारदेखि हेल्पडेक्स संचालन गरिने भएको छ । रोङ गाउँपालिकाका स्वास्थ्यकर्मी र प्रहरीसँगको समन्वयमा हेल्पडेक्स संचालन गरि ज्वरो नाप्ने एवम् स्वास्थ्य परिक्षण गरेरमात्र जिल्ला प्रवेश गराइने खड्काले बताए ।