इलाम : इलामका पत्रकार युद्धबहादुर बोहोरा सम्मानित भएका छन् ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको पाँचौं वार्षिक उत्सवको अवसरमा बोहोरा सम्मानित भएका हुन् ।
नयाँ बुलन्दका घुर्बिस पञ्चमी (इलाम र पाँचथरको सिमाना) समाचारदाता बोहोरा नेपाल पत्रकार महासंघ पाँचथरका नवनिर्वाचित कार्यसमिति समेत हुन् । उनलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
बोहोराले ग्रामीण क्षेत्रमा रहेर समेत पत्रकारिताका माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिको बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडका संचालक एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । उनले बर्सेनि एक जनालाई सम्मान गरिने बताए । ‘ग्रामीण क्षेत्रबाट नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रुपमा एक जना क्रियाशील पत्रकारलाई सम्मान गर्नेछौं । ’
बोहोरा विगत एक दशकदेखि इलाम र पाँचथरको सीमा क्षेत्रमा रहेर व्यावसायिक पत्रकारिता गरिरहेका छन् । उनी नयाँ बुलन्दसँगै झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिक, पाँचथरबाट संचालित रेडियो रवि, पब्लिक टाइम्सलगायत संचारमाध्यममा आवद्ध छ । उनी प्रेस मञ्च नेपालका प्रदेश १ सदस्य समेत हुन् ।
वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्द डटकमले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०७८ सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बरालसहित, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, प्रहरी उपरिक्षक नविनराज राई, शसस्त्र प्रहरी उपरिक्षक सुधीरजंग थापालगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रमका वक्ताहरुले पछिल्लो समय सञ्चारमाध्यमहरू धेरै भएपनि विश्वासनीय समाचार कम हुँदै गएको भन्दै चिन्ता व्यक्ता गरे । विशेषगरी अनलाइन पोर्टलहरूले विभिन्न घटनामा ‘वहकिना’ ले समग्र पत्रकारिताको नै विश्वासनियता गिरेको बताए । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले अब मिडियाले आर्थिक र विकास पत्रकारितामा कलम चलाउनु पर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पत्रकारितामा मात्र नभई अन्य क्षेत्रमा पनि विश्वसनियताको खडेरी परेको बताए ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पत्रकारिताभित्र रहेका कमीकमजोरीलाई सुधारेर लैजाने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति सोमनाथ सुसेलीले सरकारको चौथो अङ्गका रूपमा मानिएको पत्रकारिता जगतको विश्वसनियता कम भएको गुनासो गरे ।
नेपाल बाल सङ्गठन इलामका अध्यक्ष नवराज शङ्करले पछिल्लो समय जिल्लाको पत्रकारिता उद्घाटन, भाषण र शिलान्यासमा मात्र अड्किएको बताए । उनले भएका काम बाहिर ल्याउनु सहि भएपछि अनुसन्धानात्मक समाचार कम भएको तर्क गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सदस्य ख्याम भुजेलले सनसनीपूर्ण समाचारले पत्रकारिताको जग बिगारेको बताए । उनले पछिल्लो समय यस्ता समाचारको उल्लेखीय उत्पादन भएकाले पाठकले पनि विश्वसनीय स्रोतको समाचार मात्र प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा गैर सरकारी संस्था महासंघ इलामका अध्यक्ष कमल नेपाल, स्तम्भकार गोपाल पौड्याल, सम्मानित पत्रकार युद्धबहादुर बोहोरालगायतले बोलेका थिए । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक अतित योङहाङले गरेका थिए ।
२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्द डटकमले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ ।