इलाम : वैदेशिक रोगजारबाट फर्किएका इलामका युवा यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा, कोही पशुपालनमा त कोही अन्य व्यवसायमा ।
स्थानीय स्तरमा नै निशुल्क उद्यमशीलता र सीप विकास तालिम लिने अवसर पाएका रोङ गाउँपालिका र माई नगरपालिकाका युवाहरु व्यवसायी बन्न थालेका हुन् ।
मानव अधिकार मंच नेपाल इलामले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरि उद्यमशिलता र सीप विकास तालिम संचालन गरेको थियो । ‘सामाजिक रुपान्तरणका लागि युवा’ ‘जिवीकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वउद्यमशीलता सम्बन्धी युवा शसक्तिकरण समूहको क्षमता विकास र परिचालन मार्फत मानव बेचविखन विरुद्ध अभियान’ परियोजनामार्फत त्यस्तो तालिम दिइएको थिए ।
परियोना अन्तरगत दुई वर्षको अवधिमा ५ सय ४३ जनालाई उद्यमशीलता सम्बन्धी तालिम दिइएको थियो । उद्यमशीलता सम्बन्धी तालिम लिएकामध्ये उनीहरुको मागका आधारमा २ सय ५२ जनालाई सीप विकास तालिम दिइएको थियो । यसरी तालिम लिएकामध्ये १ सय ८३ जनाले सम्बन्धित निकायमा दर्ता नै गरेर व्यवसाय सुरु गरेका छन् ।
उनीहरुले केराको परिकार बनाउने, बाख्रापालन, कुखुरापालन, च्याउ खेती, बेमौसमी तरकारी खेती, बंगुरपालनलगायत व्यवसाय सुरु गरेका हुन् । ‘तालिम लिएकामध्ये करिब ९० प्रतिशत युवाहरु दर्ता गरेर नै व्यवसायमा लागिसकेका छन् । बाँकी पनि व्यवसाय दर्ताको प्रक्रियामा छन्’ परियोजना प्रमुख सन्तोष मगरले भने, ‘व्यवसाय संचालन गर्न चाहने युवाहरुलाई स्थानीय तहसँगको समन्वयमा सहायता समेत प्रदान गरिएको छ । यसले थप उत्साहित बनाएको पाएका छौं ।’
तालिम लिएर व्यवसाय गर्न इच्छुक युवाहरुलाई उनीहरुको मागको आधारमा मानव अधिकार मंच नेपालले पहिलो वर्ष प्रतिव्यक्ति १० हजार र दोस्रो वर्ष १२ हजार ४ सय ८५ रुपैयाँका दरले सहयोग उपलब्ध गरेको थियो । त्यस्तै माइ नगरपालिकाले दुवै वर्ष १० हजारका दरले सहयोग गरेको थियो । उता रोङ गाउँपालिकाले भने व्यवसायको प्रकृति हेरी १० देखि ३० हजार रुपैयाँसम्म सहयोग गरेको थियो । यसरी स्थानीय सरकारबाट समेत सहयोग पाएपछि युवाहरु उत्साहित भएर व्यवसायमा लागेका छन् ।
परियोजना अन्तरगत मानव अधिकार मंचले २०१९ मा २ सय ४१ र २०२० मा ३ सय २ गरी ५ सय ४३ जना युवालाई उद्यमशीलता तालिम दिएको थियो । उद्यमशीलता तालिम लिएकामध्ये उनीहरुको मागका आधारमा २०१९ मा ६९ जना र २०२० मा १ सय ८३ गरी २ सय ५२ जनालाई सीप विकास तालिम दिएको थियो ।
उनीहरुलाई केराको परिकार बनाउने, बाख्रापालन, कुखुरापालन, च्याउ खेती, बेमौसमी तरकारी खेती, बंगुरपालन तालिम दिएको थियो ।
१८ देखि ३० वर्ष उमेर समूहका आन्तरिक, बाह्य, संभावित र असफल भइ फर्किएका युवाहरुलाई लक्षित परियोजना यसै वर्षदेखि माईजोगमाई र चुलाचुली गाउँपालिकामा समेत सुरु भएको छ ।