पाँचथर : प्रधानमन्त्री केपी शर्मा वलीले उद्धघाटन गरेको पाँचथरको कुम्मायक गाउँपालिकाको तमोर लिफ्ट खानेपानी योजनामा समस्या देखिएको छ । २०७६ फागुन ११ गते प्रधानमन्त्रीले उद्घाटन गरेको योजनामा प्राविधिक समस्या देखा परेपछि खानेपानी समस्या भएको हो ।
योजनाले सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरीलाई खानेपानी बितरण गर्दै आएको थियो । तर योजनामा नियमित विद्युत प्रसारण नहुनु, पंम्प, ट्रान्सर्फमर र प्यानल बोडमा समस्या देखिनु जस्ता कारणले खानेपानी समस्या चुलिएको हो । पटक पटक समस्या देखापरेपछि बिभागीय टोलिले योजनाको अनुगमन समेत गरिसकेको छ । अनुगमनका क्रममा टोलिले योजनामा स्टेप्लाइजर उपकरण आवश्यक हुने बताएको थियो ।
उक्त उपकरण जुटाउँन उपभोक्ता समितिले पहल गर्दै आएको समितिका कार्यबाहक अध्यक्ष मेघराज निरौलाले बताए । योजनाको मुख्य पाइपलाइनको काम गर्दै आएको ठेकेदार कम्पनीले पहिलोे चरणको काम पूरा गरेको छ । काम पुरा गरेको योजना उपभोक्ता समितिलाई बुझाउँने प्रकृया अघि बढाएको छ । तर योजनामा सुधार गर्नु पर्ने पक्षहरु रहेको भन्दै समितिले तत्काल योजना जिम्मा लिन नसक्ने बताउँदै आएको छ ।
५२ करोडको लागतमा निर्माण हुदै आएको योजनाको मुख्य पाइपलाईनको काम पूरा भएको छ । सोही पाइपलाइनमा प्रयोग भएको पम्पमा आएको समस्याका कारण एक सातादेखि खानेपानी ठप्प हुदा कुम्मायक गाउपालिकावासी काकाकुल भएका छन । गाउँको आसपासमा रहेका कुवा र धारामा पानी पाउँन छाडेपछी फेरि एक गाग्री खानेपानी लिन घण्टौ समय खर्चिनु पर्ने समस्या देखा परेको छ ।