कोरोना अनुभव र पुनर्जीवन

  भीम राई  139 पटक हेरिएको

भीम राई

‘यदि ज्ञान बाँड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’ भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्यान एबम अनुभव गरेका हुन्छन् ति सबै बाँड्न सकेभने समाजले राम्रो फाइदा लिन सक्छहोला जस्तो मेरो मनमा लागिरहेको थियो । त्यसैलाई आधार मानेर मैले भर्खरै लिएको कोरोना अनुभवलाई अक्षररुपि भाषामा परिणत गर्ने यहाँ जमर्को गरिरहेको छु ।

हुनत यस धर्तिमा जीवनरुपी भरयाङ्गको मैले पचपन्न खुटकिलाहरु पार गरिसकेको थिएँ । तैपनि बास्तविक जिन्दगीको परिभाषा अझै खोजिरहेको थिएँ । झन कुनैबेला यस्तो लाग्ने गर्दथ्यो । जन्मदेखी मृत्युसम्मको समय मात्र ‘जीवन’ हो र बाँकी सबै परिभाषित नगरिएको एउटा कथा जस्तै हुन् ।

अ, यसरी नै मेरो जिन्दगी एउटा ९० डिग्रीको कोण झै सिधै उँभोउँभो चँढिरहेका थियो । तर, अनायसै एकदिन जिन्दगी खालिपानामा शिसाकलमले कोरिएका बक्ररेखा झै लरबरिदै आयो । अकस्मात त्यसरि कोरिएका बक्ररेखा आर्थिक, सामाजिक र राजनैतिक धरातलभन्दा सोर्है आना फरक भएर आएको थियो । तर त्यसले पारेको असरले जीवनमा एउटा नरमाइलो छाँप छाडि राखेर सँधै सँधैको लागि बिदा भएर गयो ।

१८ डिसेम्बर २०२० कृष्णपक्षको एउटा कालोदिन थियो । कोरोना महामारिको बेला अग्रपङ्त्तिमा रहेर कर्तब्यपथमा लडाइ लडिरहेका दुःखी छोरोले शिथिल र क्लान्त शरिर लिएर त्यस बेलुकि घर आइपुगेको थियो । त्यसै त बेलायती डिसेम्बरको महिना दिउसोको चार बजे नै रात पर्ने गर्दथ्यो । त्यसमाथी झन कालो, मैलो र धमिलो कुहिरोले छपक्कै ढाकेको उसको अनुहार घरभित्र छिर्दा सदाझै अनुहारमा दिप्त प्रकाशका ज्योति देखापर्न सकिरहेका थिएनन् ।

घर भित्र पस्ने बितिक्कै, ‘ल ! खत्तम भइयो ?’ भन्ने एउटा शकांस्पद प्रश्न हावाको गति सँगसँगै उसले छाडि पठायो । निमेषभरमा उसको त्यो प्रश्नबाचक शब्द तारा र मेरो कानकानसम्म पुगेर ठोकियो, किनभने हामी दुवैजना उसको नजिकै कुर्सिमा आराम गरेर बसिरहेका थियौ । एकान्त जङ्गलमा कोईलीको बिरहलाग्दो भाकाझै छोराको बिरहलाग्दो भाकाले किन त्यसो भनेको होला भनेर हामी दुवैजना एकछिन चुपचाप बस्यौ र घोस्सेमुन्टो लगाएर भुइँतर्फ हेरेर घोप्टिरह्यौ ।

‘ड्याडी ! थर्ममिटर कहाँ छ ?’ उसले मधुरो स्वरमा दोश्रो चोटि मुख खोलेपछि, सायद उसलाई ज्वरो आएको हुनसक्छ भन्ने मैले आकलन गरिहाले । प्रश्नको उत्तर दिन जरुरी ठानिन त्यसैले चाँडोचाँडो घरको तलामाथि चँढेर थर्ममिटर झारे र उसलाई थपक्कै टक्र्याइ दिएँ । थर्ममिटर हातमा पर्ने बितिक्कै उसले आफ्नै ज्वरो नाप्न थाल्यो ।

‘ए ! ज्वरो त सयडिग्री भन्दा उकालि चढिसकेको रहेछ,’ उसले सानो स्वरमा बरबराएको बिरमाइलो मान्दै नजिकबाट सुनिरहे । त्यसपछि, उसको साथैमा बोकिरहेको झोलादेखि ल्यापटप निकालेर माउपोथी कुखुराले मकैको दानो टकटक टिपे झै औलाले घोच्न थाल्यो । उसको साथमा अर्को एउटा सानो झोला पनि थियो । र, त्यस झोलादेखी ‘ल्याटेरल फ्लो टेस्ट’ (एलएफटी) निकालेर आफ्नै सिगाँन जाँच्न थाल्यो ।

केहि समयपछि एलएफटीको अनुहारमा दुईवटा काला धर्साहरु देखापरे । तिनै धर्सामा परिणत भएको नतिजालाई देखाउदै कोरोना पोजिटिभ भएको दुःखद समाचार हामीलाई सुस्तरी सुनायो । उसको भनाइलाई मैले थोरै बिरमाइलो मान्दै सुनिरहे र थोरै बेखुशि हुदै एलएफटीको नतिजालाई एकचोटि राम्ररी हेरे ।

हामी त्यसबेला भान्सा कोठामा थियौ, र ताराले उसको लागि खाना तयार गर्दै थिइन । छोराको दुःखद समाचार सुन्ने बितिक्कै उनी थोरै झस्किइन र अतालिदै हामी तिर फर्किइन । तर, उनीहरु भन्दा म नै अलिक बृध्द अबस्थामा पुगेको थिएँ । त्यसैले भित्रभित्रै डराएको कछुवाझै एकपोका परिरहें ।

‘मम्मी ! तपाई पनि खोक्दै हुनुहुन्छ ? खै तपाईको पनि नाक चाँज गरौ ?’

मधुरो स्वरमा छोरोले अर्कोचोटि मुख खोल्यो । अब एलएफटीले नतिजा के देखाउने होला भनेर मलाई पिरको बोझ थपिदै गयो । ताराको जस्तो नतिजा आउछ, मेरो पनि त्यस्तै हुन्छ भन्ने मैले भित्रभित्र अन्दाज लगाइसकेको थिएँ । त्यसैले, ‘उनी हिउँदे खोकिले मात्र ग्रसित छिन, अन्य केहि भएको छैन, जाँच नगरेपनि हुन्छ,’ भनेर थोरै शान्त्वना दिन खोजें ।

तर, मेरो भनाइलाई ताराले के मान्थिन ? एउटा सिङ्गो चामल त के कनिका झै पनि मानिनन् । त्यसपछि उनी पनि जाँचको लागि तयार भइन । छोराले ताराको नाकमा सिन्काले घोच्न थाले । मैले बिरमाइलो मान्दै उसको कार्यगति नियालि रहें, किनभने उनको त्यो परिक्षा नै मेरो आफ्नै परिक्षा झै मलाई लागिरहेको थियो ।

आँधा घण्टाको हैरानीपछि एलएफटिले तारालाई पनि पोजिटिभ भएको परिणाम देखाइ दियो । हाम्रो एकजना छोरी पनि थिइन र उनी हामी भन्दा केहि टाढा अर्को सहर रेडिङ्गमा बस्थिन । छोरीले घर छाडेपछि गत महिनादेखी छोरा हामीसँग बस्न आएको थियो । त्यसैले हामी तीनजना एउटा घरमा बस्दै आएको थियौ । ताराको नतिजा आएपछि, ‘मैले बुँझे, अब मलाई जाँच गरिरहन जरुरि छैन,’ भनिहालें।

भन्न त मेरो जाँच गर्न पर्दैन भने, त्यसपछि मेरो मन थोरै बेचैन हुन थाल्यो । ‘अब कुन समयमा के हुने होला ?’ भन्ने प्रश्नबाचक चिन्ह खडा भएर मेरा सामु ठिङ्ग उँभिरह्यो । त्यसैले केहि बोलिन, तर थोरै आतंकित र भयभित मुद्रामा सुत्नको लागि आफ्नो कोठातर्फ लागें । तारा कुनबेला आएर मसँग सुतिन केहि चाल पाउन सकिन । जब मध्यरात ढल्कियो, तब म ब्युँझदा हनहनि ज्वरोसँग ब्युँझिरहेको थिएँ । मैले गर्लम्मै ओढेको बेलायती जाडो महिनाको शिरक पशिनाले लुथुक्रै भिजेको अनुभव गरिरहें । त्यसपछि हरेक पटक ब्युझँदा खोक्न थालिसकेको थिए र समय समयमा नाक बन्द हुन सुरुगरेका थिएँ ।

त्यसरात मानसिक रुपले म मरे तापनि भोलि बिहान सबेरै उठेर तातोपानी उमालेर पिएँ । त्यसपछि कम्युटर भएको कोठामा गएर पिसिआर जाँज गर्ने ठाँउ पत्ता लगाउन थाले । बेलायती सरकारको बेवसाइटमा गएर ‘कोभिड १९’ जाँच गर्ने स्थानिय स्थान पत्ता लगाए । अनि तीनैजनाको परिक्षणको लागि ११ बजेको समय मिलाए ।

त्यसदिनको मौसम ज्यादै नराम्रो थियो । कालोमैलो बादलले बानबुरी गाँउ ढुस्स मात्र भएका थिएनन्, सारा आकास रोइरहेको थियो । तिनै रोइरहेको आकाश र रोइरहेको मेरो दिललाई एक्लै कोठामा बसेर निक्कै लामो समयसम्म तुलना गरिरहें ।

यसबर्षको क्रिसमस चाँड घरको मुख्यढोका अगाडि आइपुगेका थियो । हरेक बर्ष क्रिसमसको दिन बिजुलि चुल्हामा ताराले एउटा भिमकाया टर्कीको ह्याकुल्ला पोल्ने गर्दथिन । तिनै जिब्रोमा बिलाउने ह्याकुल्लालाई चिथोर्न र क्रिसमसको दुईहप्ता छुट्टि मनाउन घर आउन खुशि भइरहेको छोरीलाई घरभरि कोभिड छ त्यसैले घर नआउनु है भन्नको लागि मेरा शब्दहरु कुन शब्दसागरबाट निकाल्ने होला भनेर पिरको भुँमरिमा रुमलिन थालें । हुनत मेरो जाबो मन पनि उदेककै थियो । कुर्सीमा बसेर कम्युटर हेरिरहेको थिएँ, किनकिन दुःखी छोरीको यादमा भुइँमा थचक्कै बसेर धेरै लामो समयसम्म क्वाँ क्वाँ रुन मन लागिरह्यो ।

त्यसदिनदेखि घडिको काँटा धिलो घुम्न थालेका जस्तो लाग्न थाल्यो । हरेक सेकेण्ड, मिनेट र घण्टा हुदै बल्लबल्ल घडिले दिनको एघार बजायो । तारा केहिबेर अगाडि उठेकी थिइन, तर छोरा त्यसबेलासम्म उठन सकिरहेको थिएन । म उसको कोठा बाहिर पुगेर तेश्रो चोटि कराएँ । मैले ठूलो स्वरमा कराएपछि, थरथरि काम्दै निक्कै मुश्किलले छोरो उठ्यो र एकचोटि आङ्ग तन्कायो । ऊ उठने बितिक्कै हामी ‘उडग्रिन मनोरन्जन क्रेन्द्र’ बानबुरिमा पुगेर पिसिआरको परिक्षण गरयौ । स्थानिय सरकारले उडग्रिन मनोरन्जन केन्द्रलाई अल्पकालिन ‘कोभिड केन्द्रमा’ परिणत गरेको थियो ।

पिसिआरको परिक्षणपछि घर फर्किरहेका थियौ । तर, ज्वरो र सुख्खा खोकिले हामी सवैजना ग्रसित भएर थकित मुद्रामा थियौ । हामी कसैलाई बोल्ने जाँगर चलिरहेको थिएन । मैले कार हाँकिरहेको थिएँ र आफ्नै धुनमा बिबिसी रेडियो एकोहोरो बजिरहेको थियो । रेडियोदेखी ठिक बार्हबजे आँफै समाचार भट्टिन थाल्यो । बेलायतमा कोभिड १९ ले हरेक दिन आठ नौ सय जनाको हाराहरिमा मानिसहरुले जीवन गुमाईरहेका छन् भन्ने समाचार फियोना ब्रुसले दुःखित हुदै पढेको सुन्दा तारा झसँग भइन र उनको कागखुट्टिलाई थोरै तन्काइन ।

उनले त्यसबेला खुट्टि मात्रै तन्काएकी थिइनन्, ‘अब के हुन्छ ?’ भनेर मतर्फ इङ्गित गर्दै एउटा छोटो प्रश्न गरिन । मैले प्रत्युत्तरमा, ‘जे नहुनु थियो, त्यो भइहाल्यो । आखिर कोही मानिस अजम्बरि हुदैनन् र मर्न कसैलाई रहर छैन । अहिले मृतसँजिबानिको बुट्टिले पनि कसैलाई काम गर्नेवाला छैन । तिम्रो जीवनको अन्तिम इच्छा के के छन् भनिराख्नु हामीमध्ये जो बाँच्न सक्छौ उसले हाम्रा अभिष्ट इच्छाहरु पुरा गर्ने प्रयत्न गरौं । तर, त्यसो भनिरहदा कुनैपनि मूल्यमा तिसबर्षे छोरोको मृत्यु चाँही हेर्न म सक्त्तिन होला ?’ सुस्तरी उनलाई भने ।

मैले त्यसरि छाडदै गरेका शब्दहरुबाट निर्माण हुने बाक्याशँ पुरा हुन नपाउदै ताराका नयनहरु नराम्रो सँग रसाएको मैले दुर दृष्टिदेखी नजर लगाइरहें । गह भरिएका उनको आशुँले स्वस्थान छाडेर मुल फुटेपछि मलाई हल्का नरमाइलो लागेर आयो । हामी बानबुरी गाँउको एउटा सानो बाटोमा थियौ । त्यसै त छोरा आबश्यक्त्ता भन्दा पनि अझ थोरै बोल्दथे, झन बिमार भएपछि उसको मुखदेखि एउटै शब्द फुत्किन सकेका थिएनन् ।

‘हेर ! गतबर्ष मात्र छोरोले बिहे गरेको भए सायद यो बर्षसम्ममा एउटा नाति जन्मन सक्थ्यो होला ?’

आँशुसँग मिश्रित भाषामा तारा दोश्रोचोटि बोलिन । उनको भनाइ सुनेपछि कस्को इहलिला कुनबेला समाप्त हुने र कुन शब्द अन्तिम हुनेहोला भनेर म भित्रभित्रै पिर परिरहेको थिएँ, त्यसैले उनको भनाईलाइ केहि वास्ता गर्न सकिरहेको थिइन ।

केहि समयपछि हामी घरमा पुग्यौ । घरभित्र छिर्ने बितिक्कै छोरो उसको कोठामा पसिहाल्यो । म पनि कतिबेला घर पुगेर आराम गरौ भइरहेको थिएँ त्यसैले केहि नबोलि सुत्न हिडिहालें ।

दुईघण्टा जति आराम गरेर म पुनः उठे र बिस्तारै मुनि तला झरेर भान्सा कोठामा पुगे । किनभने तारा भान्सा कोठामा नै मज्जाले आराम गरिरहेकी थिइन । हामी चारकोठे घरमा बस्दै आएको थियौ र हाम्रो घरमा चारैवटा शौचालयहरुको सुबिधा पनि थियो । म ताराको सामुन्ने पुगेपछि अबदेखि को को कहाँकहाँ सुत्ने र कसले कुन शौचालय प्रयोग गर्ने भनेर भाग लगाउन थालेको थिएँ ।

तर ताराले, ‘आ… ठिक्कैछ, सङ्गै जिउने सङ्गै मर्ने हो,’ भनेपछि मेरो योजना भताभुङ्ग त यस्सै भयो । अझ उनको भनाइ सुनेर नेपालमा सतिप्रथा त उन्मुलन भइसकेको थियो । तैपनि बेलायती हजुर महाराणीको देशमा छिट्टफुट्ट बाँकी रहेछ भन्ने मलाई त्यसबेला लागि रह्यो ।

हाम्रो घरको पुर्व दिशामा हार्डविक हिल रहेको थियो । तिनै हार्डविक हिलको क्षितिजदेखि हरेकदिन एउटा कष्टकर बिहानी उदाउथ्यो र पिरको भारि सँगसँगै अँध्यारोमा परिणत भएर बेलुकि अस्ताउथ्यो । निक्कै दुःखले ४८ घण्टा समय बितेपछि पिसिआरमा सबैको नतिजा पोजिटिभ भएको बिधुतिय पत्र बाट हामीलाई जानकारि भयो । र, अगामि दश दिनसम्म घरदेखि बाहिर निस्कन निषेध गरिएको छ भन्ने खबर पनि तिनै राष्ट्रिय स्वस्थ सेवा बिभागदेखि चाल पायौ । तर के गर्ने ? दुर्भाग्यबस त्यसबेलासम्म मैले मेरो जिब्रोलाई बिदा गरिसकेका थिएँ । केहि खान मन लाग्दैन थियो अझ त्यतिमात्रै कहाँ हुनु कुनैपनि कुरोको स्वाद पाउन छाडिसकेको थिएँ ।

हामी शान्त बातावरण रोज्ने भएर सहरदेखि केहि टाढा एउटा गाँउमा बस्दै आएका थियौ । हाम्रो घरदेखि सबैभन्दा नजिकको अर्को नेपालीको घर कारदेखी लगभग चालिस मिनेट जति लाग्दथ्यो । तैपनि बेलायतमा ब्यस्त जिन्दगी ब्यतित गर्न पर्ने भएकोले प्रायः भेटघाट शून्य हुन्थ्यो । अझ कोभिड सुरु भएपछि घरदेखि बाहिर निस्कन लगभग छाडिसकेका थियौ । जस्ले गर्दा बेलायतमा अर्को नेपालीसँग भेट नभएको लगभग एकबर्ष भइसकेका थिएँ । त्यसैले हरेक दिन घर पछाडिको बगैंचामा खङरङ्गै पात झरेर अर्धमृत अबस्थामा रहेका स्याउ, चेरी र आलुबखडाका बिरुवाहरु हेरेर मन भुलाउने प्रयत्न गरिरहेका हुन्थे ।

तारा र मलाई तीन दिनपछि ज्वरोले चट्टै छाड्यो । तर छोरालाई क्रमशः चार दिनसम्म सताइ रह्यो । ज्वरोसँग जुध्नको लागि घरमा भएको जति सिटामोल छोराले सबै खाए । मैले चाँही पानीपट्टिले ठिक गरें । हामीदेखि ज्वरोले त बिश्राम लियो, तर मेरो नाकले भने हैरानि खेप्न थालिसकेका थिएँ । त्यस बेलादेखि मैले सबैप्रकारको सुगन्ध वा दुर्गन्ध लिन छाडिसकेको थिएँ । गन्धले जिन्दगीमा त्यति धेरै असर नपारेपनि समय समयमा चल्ने खोकीले आन्द्राभूँडी नै उछिट्याउला जस्तो गर्दा अहिले नै मरि हालौ कि क्या हो भन्ने अनुभुत भइरह्यो ।

घर बाहिर जान निषेध थियो, तैपनि छडके जाँच गर्नको लागि राष्ट्रिय स्वास्थ सेवादेखी समय समयमा फोन आइ रहन्थ्यो । हरेकदिन एउटा नयाँ दिन आउथ्यो तर नयाँ हर्ष, उमङ्ग र खुशि आउदैन थियो । त्यसको सट्टामा प्रत्येक दिन झरि परिरहेका हुन्थे र झरि नपरेको दिन आकाशदेखि हिउँका सेतासेता भुवाहरु झर्थे, तर हिउँ जमिनमा अडिन नपाउदै बिलाएर जान्थे । तिनै जमिनमा अडिन नसकेका हिउँसँग अस्ताउन लागेको हाम्रो जिन्दगीको नरमाइलो तुलना गरिरहन्थे ।

त्यस्तो पीर, भय र त्राशले सन्नटा छाएको अमिलो दिनहरु धेरै लामोलामो हुने गर्दथे । हरेक मिनेट र घण्टा क्लान्त र शिथिल शरीरसँग पेंठैजोरी खेलिरहेका हुन्थे । अनि आलश्य, थकान र हैरानिसँग समय गुज्रिरहने गर्दथे । अझ कुटुकुटु खाइरहेको हृदयमा कुनबेला कसको श्वासप्रश्वासमा समश्य आउने होला भनेर भयभित मुद्रामा पिडादायी जीवन ब्यतित गरिरहेको थियौ ।

अलिक सन्चो भएपछि ताराले मिठा मिठा भोजन बनाउने प्रयत्न गरिन । तर हामी कसैलाई केहि खान मन लागिरहेका थिएनन् । किनभने हामी सबैले खानाका स्वाद गुमाइ सकेका थियौ । बडो कष्टप्रदको १० दिन बितेपछि जिन्दगीमा थोरै खुशिका लहरहरु देखापर्न थालेका थिएँ ।

‘यतिन्जेल सम्म बाँचियो, अब त के मरिन्थ्यो होला र ?’

अर्धमृत अबस्थामा जिइरहेकी ताराले त्यसरि एकाबिहानै मुख खोल्दा मलाई थोरै भएपनि राहत मिलेको थियो ।

समयले नेटो काटिरहेको थियो । कोभिड शंक्रमणले दुईहप्ता पार गरेपछि पुनः कोभिड केन्द्र पुगेर दोश्रोचोटि स्वाब परिक्षण गर्यौ । चिन्तित ७२ घण्टाको प्रतिक्षापछि नेगेटिभ नतिजा हात पारेर हामी ढुक्क भएका थियौ । निश्चय नै हामीले कोरोनापछि पुनर्जीवन पाउन सकेकोमा केहि हदसम्म खुशि त भएका छौ, तर महामारिले धर्तिका सबै मानिसहरु भाग्यमानि हुन नसकेकोमा धेरैधेरै दुःखित बनेका छौ ।

अक्सफोर्ड, बेलायत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार