सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा संचालित प्रथम सन्दकपुर गोल्डकपको उपाधि जनता सेभेन स्पोर्टिङ क्लब झापाले चुमेको छ ।
बुधबार भएको फाइनलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै जनता सेभेनले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भई बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा जनता सेभेनका भबिन बोहराले गोल गरि टिमलाई उपाधि नजिक पर्याएका थिए । तर दोस्रो हाफको २१ औं मिनेटमा देउमाईका मुकेश मगरले गोल गर्दै खेललाई बराबरीमा रोके । त्यसपछि खेलअवधिभर दुवै टिमबाट गोररहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दी म्याच जनता सेभेनका भबिन बोहरा घोशित भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरे ।
जितसँगै जनता सेभेनले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पारे । उपविजेता देउमाईले नगद ५० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।
गोल्डकपको उत्कृष्ट खेलाडी देउमाई फूटबल क्लबका रोहन कार्की सर्वाधिक गोलकर्ता जनता सेभेनका सेरुहाङ लिम्बू र वेस्ट डिफेन्डर जनता सेभेनका अ्मित राई घोशित भए । उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेता टिम र खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडा अध्यक्षलगायत अतिथिहरुले पुरस्कार वितरण गरे ।
कार्यक्रममा खेलमैदान निर्माणका लागि जग्गा दाता विष्णुकुमारी राईलाई दोसल्ला र नगदद्वारा सम्मान गरिएको थियो । प्रतियोगिता सातखाल्डे खेलमैदानमा भएको थियो।