इलाम : सुरक्षित आप्रवासन परियोजना (सामी) माङसेबुङ गाउँपालिकाले स्थानीय जनप्रतिनिधि, पत्रकार र प्रहरीसँग अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारै जाने भए सहि सूचना र सीप सिकेर मात्र जाऔं’ भन्ने नाराका साथ काम गरिरहेको परियोजनाबारे जनप्रतिनिधि, पत्रकार र प्रहरीसँग संयुक्त अभिमुखीकरण गरेको हो ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका इलाम जिल्ला संयोजक इश्वरी तामाङ र लेखा तथा प्रशुसन प्रमुख गणेशप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रममा परियोजनाको उद्देश्य, परियोजनाले अहिलेसम्म गरिरहेको काम र आगामी दिनमा गर्ने काममा बारेमा जानकारी गराइएको थियो ।
परियोजनाले वैदेशिक रोजगमारीमा जान चाहने र गएर फर्किएकाहरुका लागि मुख्य गरि तीनवटा काम गर्दै आएको छ । परियोजनाले न्यायमा पहुँच, सहि सूचना र परामर्श तथा सीपयुक्त जनशक्ति विकास गर्ने उदेश्यले एक महिने सीपमूलक तालिम संचालन गर्दै आएको छ ।
माङसेबुङ गाउँपालिकाका १ सय ७४ जनालाई सीपमूलक निशुल्का तालिम दिने लक्ष्य राखेकोमा हाल एक जनाले सो तालिम लिइसकेका छन् । १९ देखि ३० वर्ष उमेरसमूहका महिला, बच्चाको आमा भएक बच्चा दुई वर्ष पूरा भएको र पुरुष भए १९ देखि ३५ वर्ष उमेरसमूहकालाई सो तालिम दिइनेछ ।
त्यस्तै ९६ जनालाई न्यायमा पहुँच पुर्याउने लक्ष्य राखेकोमा हालसम्म १८ जनालाई न्यायमा पहुँच पुर्याइएको जनाइएको छ । ४८ जनालाई मनोसामाजिम परामर्श दिने लक्ष्य राखेकोमा हालसम्म १० जनालाई परामर्श दिइसकेको उल्लेख छ । त्यसैगरी ३ सय जनालाई वित्तीय साक्षरता दिने लक्ष्य राखेकोमा हालसम्म १ सय जनालाई सो वित्तीय साक्षरता कक्षा संचालन भइरहेको छ ।
माङसेबुङ गाउँपालिकामा गत १ मंसिरदेखि सो परियोजना संचालन भइरहेको छ । परियोजनामा १ जना मनोसामाजिक विमर्शकर्ता, १ जना वित्तीय साक्षरता र ३ जना रिटर्नी स्वयम् सेवक नियुक्त भइ कार्यरत छन् ।
स्वीस सरकारको सहयोगमा नेपालका ३९ जिल्लामा संचालन भइरहेको परियोजना गतवर्षदेखि इलामका ४ स्थानीय तहमा संचालन भइरहेको छ । जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा परियोजना संचालन भइरहेको छ । परियोजनाको अवधि ४ वर्षको रहेको छ ।