आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार लावतीलाई

पत्रकार सुमन लावती

इलाम :  २०७८ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामका पत्रकार सुमन लावतीले पाउने भएका छन् । साविक मेचीका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक लावतीलाई प्रदान गर्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ इलाम शाखाका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईको अध्यतामा शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीको सो पुरस्कार यसपटक पनि नयाँ वर्षमा प्रदान गरिनेछ ।

विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील लावती हाल ग्रामीण क्षेत्र इलामको माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन प्रमुख हुन् । सेइङ बेलिपुन्ज साहित्यिक पत्रिकाको सम्पादक भएर पत्रकारितामा प्रवेश गरेका लावती छहारा साहित्यिक पत्रिका, हाम्रो बुलन्द आवाज पाक्षिक पत्रिका, सनसाइस पोस्टमा आवद्ध हुँदै माङ्गेन्ना मासिक पत्रिकाको सम्पादक भएर समेत काम गरिसकेका छन् ।

उनी २०७२ देखि रेडियो माङसेबुङको स्टेशन प्रमुखका रुपमा कार्यरत छन् । उनी माङसेबुङ गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।

त्यस्तै यसअघि स्थगित २०७७ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामकै पत्रकार गणेश घिमिरेले पाउनेछन् । यसअघिको कार्यसमितिले गत १० माघको साधारणसभामा नै वितरण गर्ने निर्णय गरेपनि अन्तिम समयमा स्थगित गरेको थियो । सोही निर्णय बमोजिम नयाँ वर्षमा नै घिमिरेलाई पनि पुरस्कार वितरण गरिनेछ ।

पत्रकार गणेश घिमिरे

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचारपत्र दैनिकका इलाम समाचारदाता एवम् रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादक समेत हुन् ।

यसपटक दुवै वर्षको पुरस्कार एकैदिन वितरण गरिनेछ । अघिल्लो नयाँ वर्षमा कोरवना भाइरस (कोभिड १९) का कारण सो पुरस्कार वितरण गरिएको थिएन ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल नयाँ वर्षको दिन इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।

युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार