इलाम : नेपाली कांग्रेस इलामले नवनिर्वाचित नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ कार्यसमितिलाई स्वागत र सम्मान गरको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम आयोजना गरी कांग्रेसले विप्लव भट्टराई नेतृत्वको महासंघको नयाँ कार्यसमितिलाई स्वागत र सम्मान गरेको हो ।
कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाले महासंघका नवनिर्वाचित जिल्ला कार्यसमिति, इलामबाट निर्वाचित प्रदेश समिति सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अविर र खादा ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा वक्ताहरुले परिवर्तनका लागि सँगसँगै लडेका राजनीतिक दल र प्रेस जगतले लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षाका लागि समेत मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । राजनीतिक दललाई सही बाटोमा हिँड्न पत्रकारहरुको निरन्तर खबरदारी आवश्यक रहेको र त्यसबाट दलहरु पनि सच्चिन तयार हुनुपर्नेमा वक्ताहरुको जोड थियो । लोकतन्त्र मजबुद भएमा मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने भन्दै लोकतन्त्रका लागि हातेमालो गर्नुपर्नेमा जोड दिएक थिए ।
कार्यक्रममा कांग्रेसका सभापति कर्माचार्यसहित पूर्व सभापति थापा, महासमिति सदस्य विष्णु लिम्बू दाहाल, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष सविता पाण्डे, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराई, उपाध्यक्ष ख्याम भुजेल, कोषाध्यक्ष राम योङहाङलगायतले मन्तव्य राखेका थिए ।
जिल्ला सचिव खगेन्द्र देवानले संचालन गरेको कार्यक्रमको स्वागत अर्का सचिव निरोज खड्गीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति थियो ।
बुधवार सम्पन्न निर्वाचनमा भट्टराई अध्यक्षमा निर्वचित भएका थिए । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका भट्टराईले प्रेस संगठन नेपालका सुजन तिमसिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । भट्टराइले खसेको १ सय ५५ मतमध्ये १ सय ६ मत प्राप्त गरेर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी तिमसिनाले ४८ मत मात्र प्राप्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष ख्याम भुजेल र सुनिता राई, सचिव भीम चापागाई, सहसचिव प्रेम अधिकारी र ज्ञानु लिम्बू तथा कोषाध्यक्ष राम योङहाङले जिम्मेवारी सम्हालेका छन् ।
यस्तै सदस्यहरुमा सुजाता सुनुवार, तीलबिक्रम दर्जी, काकीराम लावती, रमेशकुमार पराजुली, गोविन्द भट्टराई, किरण पौड्याल, गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा, बालकृष्ण बस्नेत र भगीरथ भण्डारी रहेका छन् ।
जिल्लाका १ सय ७५ सदस्यहरुमध्ये १ सय ५५ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।
यस्तै केन्द्रीय परिषद सदस्यमा प्रभाकर प्रधान, विजयशेखर भट्टराई, कौशिला खिम्दुङ राई, राजकुमार दाहाल र शिव मुखिया निर्विरोध निर्वाचित भएका छन् । प्रदेश परिषद सदस्यमा गोविन्द पौडेल, जीवन शर्मा, दिनेशकुमार महत र वेदमाया मुखिया (सोनु), गोविन्द लामिछाने, सोमनाथ सुनुवार, विमल दाहाल, योगेन्द्र शंकर, रीता राई, प्रविण सेलिङ, सङसेमी माङयुङ र सरीता राई निर्विरोध निर्वाचित भएका छन् ।
इलाममा नेपाली कांगेंस निकट नेपाल प्रेस युनियन, नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी निकट प्रेस मञ्चबीच गठबन्धन भएको थियो भए नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल एकल चुनावी मैदानमा उत्रेको थियो ।