विर्तामोडमा एकपछि अर्को हत्याको घटना,प्रहरीले सुरक्षा संयन्त्र फितलो गरेको भन्दै स्थानीयको आक्रोस

इलाम : झापाको बिर्तामोड क्षेत्रमा अपराधका घटनामा वृद्धि भएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयले प्रहरी विरुद्ध आक्रोश ब्यक्त गरेका छन् ।

डीएसपी आर्चायले शान्ति सुरक्षा कायम गर्न नसकको स्थानीयको भनाई छ । बिर्तामोडका दुई ब्यक्ति तीन दिनको अवधिमा जंगलमा मृत फेला परेसंगै बिर्तामोड प्रहरी शान्ति सुरक्षा कायम गर्न असफल भएको बताइएको छ । उनीहरूको हत्या भएको प्रहरीले आशंका गरेको छ। जंगलमा दुई व्यक्ति मृत भेटिएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा झापा प्रहरीलाई चुनौती थपिएको छ। बिर्तामोडको शान्ति सुरक्षा कायम गर्ने विषयमा डीएसपी आर्चाय असफल भएका हुन् ।

बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव जंगलमा भेटिएको घटना सेलाउन नपाउँदै अर्जुनधारा नगरपालिका–६ कालीझोडा निवासी ५० वर्षीय गौतम परियारको शव पनि फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ।

बिर्तामोड ५ का स्थायी बासिन्दासमेत रहेका होटल सञ्चालक निरौलाको शव आइतबार बिहान मेचीनगर १२ चाराआलीस्थित पूर्व–पश्चिम राजमार्गदेखि सय मिटरपूर्व प्रगति सामुदायिक वनभित्र फेला परेको थियो। त्यसको तिनपछि मासु पसलमा काम गर्दै आइरहेका परियारको शव बिर्तामोडस्थित सुगम पेट्रोल पम्प छेउको झाडीमा बुधबार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

ुदुवै घटना एक आपसमा जोडिएको हो कि फरक–फरक घटना हो यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,– डिएसपी थापाले भने, अहिले हामी अनुसन्धानमा छौँ, दुवै घटनाको विषयमा केही बोल्न मिल्दैन, हत्या वा मृत्यु हो अनुसन्धानपछि सार्वजनिक गर्ने छौँ।’

यता होटेल सञ्चालक निरौलाको हत्या भएको परिवारका सदस्यले दाबी गरेका छन्। सामान्य काम छ भन्दै निरौला शुक्रबार दिउँसो ३ बजे मे ९ प २२०९ नम्बरको मोटरसाइकल चढेर हिँडेका थिए। उनको शव भेटिएको स्थलमा मोटरसाइकलसमेत भेटिएको छ। उनलाई कसैले फोन गरेपछि उनी शनिश्चरे पुगेर आउँछु भनी होटेलबाट हिँडेका परिवार‍का सदस्यहरू बताउँछन्। ‘ ज्वाइँ निरौलाको अपहरणपछि रहस्यमय तरिकाले हत्या गरिएको हुनुपर्छ,ु उनका ससुरा गणेश कार्कीले भने, ज्वाइँको हत्या भएकोले हामीले उचित न्याय पाउनु पर्यो, अपराधीलाई प्रहरीले चाँडोभन्दा चाँडो पक्राउ गरी सार्वजनिक गर्नुपर्यो।

निरौलाको शव जंगलमा उत्तानो परेको अवस्थामा प्रहरीले भेटाएको थियो, दुवै हात छातीमाथि थियो, मोबाइल सटको गोजी, कालो रङको चस्मा घाँटीमा झुण्डिएको र उनको हातको बुढी औँलामा ल्याप्चे लगाएको मसी लागेको थियो। उनलाई अन्त्यै कतै हत्या गरी शव जंगलमा ल्याएर फ्यालेको हुन सक्ने प्रहरीको अनुमान छ।

शवको प्रकृति हेर्दा कुनै बाहिरी शारीरिक चोटपटक नदेखिएको र अनुहारसमेत कालो भइसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाएर ‘डग सर्च’ गरे पनि केही पत्ता नलागेको डिएसपी थापाले बताए। ‘त्यसपछि शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायौं, त्यहाँबाट आएको रिपोर्टका आधारमा थप अनुसन्धान गर्छौँ,’ उनले भने।

होटेल सञ्चालक निरौला जग्गा कारोबारी भएको खुल्न आएको प्रहरी स्रोतको दाबी छ। ‘आर्थिक लेनदेनको विषयमै उनको हत्या भएको हुनुपर्छ, एक प्रहरी अधिकृतले भने।’ यता प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम नखुलाए पनि उनीहरूको निरौलासँग नाता सम्बन्ध रहेको बताइएको छ। दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी थापाको भनाइ छ।

त्यस्तै झाडीमा फेला परेका परियारलाई पनि कसैले हत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन्। प्रायः घरबाहिरै बस्ने गरेका उनी चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। परियारलाई अन्यत्र हत्या गरेर शव त्यहाँ ल्याएर फ्यालेको हुन सक्ने आशंका गरिएको छ। शवबाट गन्ध आइरहेकाले केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनको शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको र परिवारका सदस्यहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा थप व्यवस्थित बनाउन माग

एकपछि अर्को अपराध बढ्दै गएपछि बिर्तामोडमा सुरक्षा चुनौती देखिएको छ। जसले स्थानीयवासी त्रसित बनेका छन्। बिर्तामोड नगरपालिकाले नगरभित्रको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीलाई सुरक्षित भएको महसुस हुने गरी आवश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको छ।

दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासी अत्यन्तै दुखित र चिन्तित बनेका भन्दै नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराएका हुन्।

उनले नगरको शान्ति सुरक्षामाथि चुनौती देखिएको भन्दै हत्या भएका तिलक निरौला र गौतम परियारको हत्याको सत्य तथ्य पत्ता लगाई हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन्। त्यस ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ।-पूर्वाञ्चल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार