सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं : दाहाल

  नयाँ बुलन्द
0 Shares

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने प्रस्ट पारेका छन् ।

 

राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले प्रतिगामी भनेको सरकारलाई दिएको समर्थन अब धेरै दिन नरहने बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उनले अब धेरै दिन कुर्न नसक्ने बताए । ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यो सरकारलाई म अब समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्दछ । केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

उनले अगाडि भनेका थिए, ‘हिजो प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुको मलाई हत्त न पत्त समर्थन फिर्ता नलि है भनेर जबर्जस्त दबाब म माथि छ । जबर्जस्त नै छ । म नामचाहिँ भन्दिनँ । हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिनँ ।’

अध्यक्ष दाहालले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको प्रस्ट्याए । भने, ‘जसले प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुबीच न्यूनतम समझदारी र सहमति होस् । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भनेर दाह्रा किटेर केही दिन समर्थन रोकेको मात्रै हो । अरु होइन ।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी केन्द्रले सरकारलाई समर्थन गरिरहेर दोष आफूहरुमाथि थोपरेको टिप्पणी गरे । दाहाललाई इंगित गर्दै ठाकुरले भने, ‘जुन बेला तपाईंको आवश्यकता थियो, साथ दिएकै हौं । अहिले त आफैं अलमलमा पर्नुभएको छ । ओलीलाई तपाईंले समर्थन गरिरहनु भएको छ । अनि आरोप हामीमाथि ।’

उनले जेलमा परेका आफ्ना पार्टीका नेता, कार्यकर्ता साथीहरुको आवाज जनतामा, सडकमा उठाए पनि अहिलेसम्म सम्बोधन नभएकोमा असन्तुष्टि पोखे ।

जवाफमा दाहालले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार