‘खुवालुङ’ बचाउ अभियान सकृय बन्दै ,जोगाएर जेटबोट चलाउन सकिने सरोकारवालाको धारणा

  नयाँ बुलन्द  329 पटक हेरिएको

 

इलाम : झट्ट हेर्दा त्यो ढुंगो मात्र लाग्छ, जुन सप्तकोशीमा जेटबोट चलाउनका लागि बाधक देखिन्छ ।
२०७७ साल फागुन ८ गते विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही ढुंगोलाई बाधक देखे । जेटबोट चलाउने योजनामा तारो बनेको भन्दै क्रेन लगाएर ढुंगो फुटाउने बताए ।

तर, प्रधानमन्त्री ओलीले भनेजस्तो यो केवल ढुंगो थिएन । किराँत समुदायको सांस्कृतिकस्थल थियो । जुन खुवालुङको रुपमा परिचित छ । सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोशी नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो पर्दछ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।

खुवालुङलाई किराँत समुदाय आस्थाको केन्द्र मान्छ । प्रधानमन्त्रीले ढुंगा फुटाउने अभिव्यक्ति दिएयता किराँत समुदाय आन्दोलित भएका छन् । खुवालुङ जोगाउन भन्दै अभियन्ता निरन्तर लागिपरेका छन् । देशव्यापी चर्चा पाइरहेको यो मुद्दालाई राजनीतिककर्मीले पनि चासोको रुपमा लिइरहेका छन् ।

दलहरूको आग्रह– खुवालुङ फुटाउने विकल्प खोजौं

प्रदेश–१ का मुख्य रानीतिक दलहरूबीच खुवालुङबारे छलफल भयो । छलफलमा खुवालुङ फुटाउने विषयमा विकल्प खोज्न सरकारलाई उनीहरूले आग्रह गरेका छन् । राजनीतक दलहरूले खुवालुङ (पानीढुंगो) संरक्षण गर्दै ढुंगोको दायाँबायाँबाट जल यातायात चलाउन सकिने विकल्पसमेत अघि सारेका छन् ।

सत्तारूढ एमाले, मुख्य विपक्षी कांग्रेस, माओवादी केन्द्र लगायत दलका सात जना सांसदको टोलीले खुवालुङको स्थलगत अवलोकन पश्चात् खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृतिमाथिको धावा हुने बताउँदै वैकल्पिक उपायहरू प्रशस्त रहेको ठहर गरेको हो ।

‘जल यातायातको विकास गर्ने एकमात्र उद्देश्यका साथ किराँतीहरूको आस्थाको धरोहर खुवालुङ मास्ने सरकारी नीति गलत छ,’ प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका इन्द्र आङम्बोले भने, ‘खुवालुङ संरक्षण गरेर पनि जल यातायात चलाउन सकिन्छ । यसबारे राज्य गम्भीर बन्नुपर्ने खाँचो छ ।’

सरकारले प्राविधिक अध्ययन गरेरै यसको विकल्प खोज्नपर्ने उनको सरकारलाई सुझाव छ ।

दुधकोशी, अरुण र तमोरको त्रिवेणीमा रहेको ढुंगालाई किराँत समुदायले संस्कृतिसँग जोडिएको खुवालुङ भएको दाबी गर्दै आएका छन् । स्टिमर सञ्चालनको नाममा खुवालुङ (ढुंगो) फोड्न लागिएको भन्दै त्यसको बचाउमा किराँतीहरूले विरोध गर्दै आएका छन् ।

खुवालुङको स्थलगत अवलोकन टोलीमा सहभागी प्रदेश– १, प्रदेश सभा, उद्योग, पर्यटन तथा वतावरण समितिका सभापति सिता थेबे संस्कृति र सभ्यतासँग जोडिएको खुवालुङलाई अवरोध नगरी विकल्प निकाल्नुपर्ने बताइन् ।

खुवालुङ जोगाएर विकल्पसहित ठूला आकारका जेटबोट सञ्चालन गर्न सकिने भएकाले अहिले किराँती समुदायबाट उठेको खुवालुङको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसका प्रदेश सभा सचेतक सुयर्माराज राईले खुवालुङलाई बचाएर धर्म‚ संस्कृति‚ परम्पराको राज्यले संरक्षण गर्नुपर्ने बताए । ‘विकासको नाममा विनाशमा जानु हुँदैन,’ उनले भने, ‘खुवालुङको इतिहास मास्न र भत्काउन नहुने खालका विकल्पहरू पनि छन् ।’

खुवालुङ भत्काउने निर्णयबाट पछि हटेर विकल्पका विषयमा सोच्नुपर्ने राईले बताए ।

‘राज्यले खुवालुङको विस्तृत अध्ययन गरेर त्यसको वस्तुस्थिति बुझेर कसरी संरक्षण गरेर स्टिमर चलाउने भन्ने बारेमा निर्णय लिनुपर्छ,’ उनले भने, ‘राज्यले भत्काउँछु मात्र भन्न हुँदैन ।’

उनले खुवालुङलाई संरक्षण गर्दै मोटरबोट सञ्चालनका लागि विकल्पको रुपमा दायाँ बायाँबाट लैजान सकिने बताए । संसद्को अर्थ समितिका सभापति मोहनकुमार खड्काले कोशी सभ्यता मानव सभ्यताको अमूल्य निधि भएको बताउँदै त्यही सभ्यताको ऐतिहासिक प्रमाण नष्ट गर्न खोज्ने सरकारी योजनालाई सबैक्षेत्रबाट सशक्त प्रतिकार गर्नुपर्ने बताए ।

‘यति महत्वको सम्पदा फुटाउँछु भन्ने सरकार विकास होइन, संस्कृति मास्न उद्यत रहेको देखिन्छ’, उनले भने, ‘जल यातायात चलाउन प्रशस्त विकल्प यहाँ छन्, सरकारले आँखा खोलेर हेरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली जल यातायातको विकासका लागि अवरोध बनेको खुवालुङ अर्थात् नदीभित्र रहेको (ढुंगो) फुटाउने योजना अघि सारेका थिए । सुनकोशी, अरुण र तमोरको त्रिवेणी क्षेत्रको अवलोकनपछि सांसदहरूको टोलीले, स्थानीयबासी र खुवालुङ संरक्षण समितिका पदाधिकारीहरूसँग अन्तरक्रियासमेत गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका स्थानीय राकुमार राईले खुवालुङ मास्ने या फुटाउने विषय किराँतीहरूको आस्थाको केन्द्रसँग जोडिने भएकाले त्यो दुई विकल्प आफूहरूलाई कुनै पनि अवस्थामा मान्य नहुने बताए ।

‘प्रधानमन्त्री केपी ओलीलाई किराँतकाहरुको आस्थाको केन्द्र खुवालुङ मास्ने या फुटाउने दुवै विकल्प गलत छन्,’ स्थानीयबासी राईले भने, ‘सरकारले यी दुवै विकल्पबाहेक अन्य विकल्प अघि सारेमा हामी मान्न तयार छौ । हामी विकास विरोधी होइनौं, तर हाम्रो आस्थाको केन्द्रलाई विकासको नाममा नष्ट पार्ने काम भने स्वीकार्य छैन ।’

खुवालुङ सार्ने या फुटाउने भन्ने सरकारी योजना अघि बढेपछि त्यसको चौतर्फी विरोध हुन थाले पनि प्रदेश– १, प्रदेश सभा, उद्योग, पर्यटन तथा वतावरण समितिका सभापति सीता थेबेसहित पूर्वआर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश सांसद तथा नेपाली कांग्रेसका सचेतक सूयर्माराज राई, अर्थ समितिका सभापति मोहन खड्का तथा प्रदेश सभा सदस्य राजन राईले स्थलगत निरीक्षण गरेका थिए ।

प्रदेश सरकारले कोशी र यसका सहायक नदीहरूमा जल यातायातको विकासका लागि सम्भावित जलमार्गको पहिचान, त्यसको संभाव्यता, अध्ययन, सर्वेक्षण र पूर्वधार विकास गर्न बजेट समेत विनियोजन गरेको थियो ।

सम्पदा मास्ने नियत छैन, विकल्प खोजिरहेका छौं– मन्त्री कार्की

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेको सरकारका प्रवक्ता हिक्मत कार्कीले कोशीमा जल यातायताको विकास आवश्यक भए पनि धार्मिक सम्पदा मास्ने नियत नभएको बताएका छन् ।

उनले खुवालुङ हटाउने या फुटाउने बारेमा सरकारको अहिले कुनै योजना नरहेको प्रष्ट पार्दै मन्त्री कार्कीले भने ,‘कुनै पनि जाति या समुदायको धार्मिक आस्थामाथि आक्रमण गर्ने सरकारको नीति छैन, विभिन्न राजनीतिक दलका नेताहरुले खुवालुङको बिषयलाई उचालेर राजनीतिक रंग दिन कुरा गलत छ ।’

नारायाणी र कोशीमा यातायात विकास गर्ने सरकारको नीति रहेको बताउँदै मन्त्री कार्कीले सरकारले धर्म संस्कृति मास्ने पक्षमा सरकार नरहेको बताएक । उनले खुवालुङलाई संरक्षण गर्दै जल यातायात चलाउने विकल्पको खोजी भइरहेको बताए ।

के हो खुवालुङ ?

मुन्धुम अध्येता सालिक सतासतका अनुसार किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो । जसबाट खुवालुङ भनेको पानीमा गाडिएको ढुंगा भन्ने बुझिन्छ ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे प्रष्ट उल्लेख गरिएको खुवालुङ संरक्षण संघर्ष समितिका संयोजक बलाराम राईले दावी गर्छन् ।

सतासतले किराँत समुदायले कुनै कार्य (अनुष्ठान) शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ ।

विगतका मिथ्र्य, परम्पारको प्रचलनका ऐतिहासिक पाटोका आधारमा खुवालुङ किराँतीहरुको मुन्धुमिक शक्तिकेन्द्र हो । मुन्धुमअनुसार नै किराँतीको पुर्खा खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको उनले बताए ।

किराँत राईका आदिम पुर्खा मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किराँत) माइला र रिब्लबुङ (थारू) कान्छासहित तीन भाइ थिए । उनीहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा ढोका बन्द थियो । मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेपछि उनी पार गरे ।

यता माइला भाइ हर्कबुङले ढोका पार गर्न सकेनन् । उनले पनि सँगै रहेकी चेलीको कान्छी औंला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गरे । कान्छा रिब्लबुङले भने नदी पार गर्न र दाइहरू गएको बाटो पत्ता लगाउन सकेनन् । त्यसपछि उनी तराईतिर फर्किएर बसोबास गरेको कथन छ ।

जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दूधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास गरिन्छ ।

कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा र दुङमाली भए । अरुण नदी पछ्याउँदै संखुवासभा क्षेत्रमा बसोबास गर्नेहरू कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने जनविश्वास छ ।

यसरी आफूहरूका पुर्खाले मान्दै आएको खुवालुङ सांस्कृतिक सिमानाका रूपमा रहँदै आएको अध्येता सतासतको भनाइ छ ।

मुन्धुम अध्येता सतासतका अनुसार खुवालुङसंग जोडिएका धेरै धार्मिक एव सांस्कृतिक पाटो छन् । भारतका प्रशिद्ध लेखक जिकेसेनले हिस्ट्री अफ नेपाल भन्ने पुस्तकमा खुवालुङ धार्मिक र सांस्कृतिक पक्षका बारेमा धेरै कुरा समेटेको छन् ।

उनले आफ्नो पुस्तकका किराँत समुदायको धार्मिक र साँस्कृतिक स्थलका रुपमा खुवालुङ चित्रण गरेका छन् । त्यसैगरी बराह क्षेत्रमा पिएचडी गर्ने सोम खतिवडाले पनि आफनो शोधपत्रमा किराँतीहरुको विषेश क्षेत्रका रुपमा खुवालुङ लिइने कुरालाई समावेश गरेका छन् ।-नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार