रोङ गाउँपालिकाका महिला सामुहिक सब्जि खेती गर्दै

  युद्धबहादुर बोहोरा
7 Shares

 

इलाम : झापा जिल्लासंग जोडिएको रोङ गाउँपालिका वडा नम्बर २ बर्खोल्याङमा संचालित छ्हारी महिला कृषि समुहका महिला सामुहिक सब्जि खेतीमा लागेका छन् ।

समुहको अध्यक्ष रमादेवी कोइरालाले खेतीको लागि तीन रोपनी जग्गा उपलब्ध गराएकी छिन् । उक्त जमिनमा आलु,प्याज,टमाटर,अकबरे खोर्सानी,च्याउ लगायत बेमौसमी सब्जि उत्पादन गरेर बिक्री गर्न शुरु गरिएको छ । समुहको आयस्रोत वृद्धि गर्दै उनीहरु व्यावसायिक बन्न थालेका छन् ।
सब्जि खेती गर्न पालिकाबाट बिउविजन र बेर्ना उपलब्ध र प्राविधिक सहयोग गर्दै आएको सोही वडाका महिला सदस्य टीका तिवारीले जानकारी दिइन् । अध्यक्ष कोइरालाले वडा नम्बर २ को कार्यालय भवन निर्माण गर्न दुई रोपनी नि:शुल्क जग्गा समेत प्रदान गरेको उनले बताइन् ।

२०६८ सालमा स्थापना भएको यस समुहमा करिब ८० जना सदस्य रहेका छन् । विगत वर्षमा समुहको टाेलि कृषि सम्बन्धि अवलोकनको लागि चितवन लगायतका क्षेत्रमा भ्रमण गरेर फर्किएपछि समुहले सब्जि खेती तथा सुपारीका बेर्ना समेत उत्पादन गर्न शुरु गरेको हो ।
अन्य ठाँउको कृषि पेशा देखेर आएपछि आफ्नै ठाँउमा सोही पेशा अनुसरण गर्दै जिल्लाको नमूना तथा एक उदाहरणिय महिला कृषि समुह बन्ने तर्फ अग्रसर रहेको समुहका सदस्य तथा जनप्रतिनिधि तिवारीको भनाइ छ ।
गत वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सिंचाइ पाइप खरिद गरिएको भएता पनि अझै खेती गरिरहेको जमिनमा सिंचाइको सुविधा पर्याप्त पुगेको छैन । प्रभावकारी सिंचाइ सुविधाको लागि सम्बन्धित निकायमा पहल गर्दै गरेको उनले बताइन् ।


लगनशील र उद्यमी महिला समुहलाई सरोकारवाला निकायले अझै हौसला र सहयोग  गर्ने हो भने व्यावसायिक खेती गर्न तर्फ सबै अग्रसर हुँदै स्वरोजगार बन्ने सक्ने स्थानीयहरु बताउँछन् ।

यस समुहको लेखा प्रतिवेदन अनुसार सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित अहिले सम्मको वासलत १८ लाख रहेको जनाइएको छ ।
उक्त समुहलाई पालिकाबाट गत वर्ष ६० हजार रुपैयाँ बराबरको कुर्सी उपलब्ध गराएको छ भने महिला जागरणले दराज र टेबुल प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार