मध्यपहाडीको पूर्वी खण्ड कालोपत्रको चरणमा

  नयाँ बुलन्द
0 Shares


पाँचथर : पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ ।

सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्र सम्पन्न हुनुपर्ने भए पनि उद्गम उपखण्ड कालोपत्रको गत माघमा मात्रै ठेक्का लागेकाले कालोपत्र पूरा हुन अबको दुई वर्ष लाग्नेछ । पूर्वी खण्डमा ट्र्याक खोलिए पनि कतिपय उपखण्ड वर्षौँदेखि ट्र्याकमै सीमित थिए भने कतिपय उपखण्डको मर्मत तथा स्तरोन्नति कार्य हुँदै आएका थिए । यद्यपि चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले सबै उपखण्ड कालोपत्रका लागि बजेट सुनिश्चित गर्दै ठेक्का लगाएपछि पूर्वी खण्ड नै कालोपत्रको चरणमा पुगेको हो ।

पूर्वी खण्ड राजमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङबाट भोजपुरको चखेवासम्म रहेको छ । पूर्वी खण्ड पाँचथरमा १११ किलोमिटर, तेह्रथुममा ११६ किलोमिटर, धनकुटा ४८ किलोमिटर र भोजपुर १०८ किलोमिटर पर्छ । यस खण्डमा कालोपत्र भएका तीनवटा सडकसमेत समेटिएका छन् । तिनको लम्बाइ १२८ किलोमिटर छ । पाँचथरमा पर्ने मेची राजमार्गको जोरसाल ९फिदिम०–गणेशचोक ४० किलोमिटर, तेह्रथुम र धनकुटामा पर्ने वसन्तपुर–हिले सडक २२ किलोमिटर र धनकुटा र भोजपुरमा पर्ने लेगुवा–भोजपुर ६६ किलोमिटर छन् । यसबाहेकको २५५ किलोमिटर सडक राजमार्ग आयोजनाअन्तर्गत कालोपत्रको काम अगाडि बढेको हो ।

आयोजनाबाटै ७७ किलोमिटर कालोपत्र सम्पन्न

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको यस राजमार्गको पूर्वी खण्डमा आयोजनाबाटै हालसम्म ७७ किलोमिटर सडक कालोपत्रको काम सम्पन्न भएको छ । पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय पाँचथर प्रमुख सुरेश न्यौपानेका अनुसार पूर्वी खण्डअन्तर्गत पाँचथरमा पर्ने दारिम्बा–गणेशचोक नौ किलोमिटर तथा जोरसाल–माझीटार ११ किलोमिटर तीन वर्षअघि नै कालोपत्र सम्पन्न भइसकेको छ ।

तेह्रथुममा पर्ने माझीटार–सक्रान्तिबजार २५ किलोमिटरसमेत दुई वर्षअघि निर्माण सम्पन्न भएको छ । भोजपुरमा भोजपुर–चखेवा उपखण्डको ४२ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्र पूरा भएको छ । उक्त उपखण्डको बाँकी १० किलोमिटरसमेत कालोपत्र शुरुआत हुने अवस्थामा पुगेको न्यौपानेले जानकारी दिनुभयो ।

बाँकी खण्ड दुई वर्षभित्र

पूर्वी खण्डमा १७८ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । यद्यपि कालोपत्र हुन बाँकी सबै उपखण्डलाई कालोपत्रका लागि ठेक्का लगाइसकिएको योजना कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कालोपत्र हुन बाँकी उपखण्डमा पाँचथरमा पर्ने चिवाभञ्ज्याङ–दारिम्बा ५१ किलोमिटर, तेह्रथुममा पर्ने सक्रान्तिबजार–म्याङलुङ ६५ किलोमिटर र म्याङलुङ–वसन्तपुर २६ किलोमिटर छन् । यस्तै धनकुटामा पर्ने हिले–लेगुवा २६ किलोमिटर र भोजपुरमा पर्ने भोजपुर–चखेवाको १० किलोमिटर कालोपत्र हुन बाँकी छ ।

योजना कार्यालयका प्रमुख न्यौपानेका अनुसार कालोपत्र हुन बाँकी सबैभन्दा लामो उपखण्ड सक्रान्तिबजार–म्याङलुङ उपखण्डलाई नौ वटा प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । सोमध्ये पञ्चमीबजार आसपासको १५ किलोमिटर सडक निर्माणमा ढिलाइ भइरहेको छ । “उक्त प्याकेजलाई अरु प्याकेजसँगै कालोपत्रको चरणमा पुर्याउन कठिन पर्छ कि भनेर ताकेता गरिरहेका छौँ”, न्यौपानेले भने । यसै आर्थिक वर्षमा उक्त उपखण्डको आधाभन्दा बढी हिस्सालाई कालोपत्र गर्ने कार्यालयको लक्ष्य छ ।

म्याङलुङ–वसन्तपुर उपखण्ड चालु आवमै कालोपत्र गर्ने लक्ष्य राखिएको छ । तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको यो उपखण्डको १० किलोमिटर कालोपत्रको काम शुरुआत भएको न्यौपानेले जानकारी दिए । हिले–लेगुवा खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ भने भोजपुर–चखेवा उपखण्डको १० किलोमिटर यसै आवमा कालोपत्र पूरा हुनेछ । आयोजनाको उद्गम उपखण्ड चिवाभञ्ज्याङ–दारिम्बा भने गत माघमा मात्रै ठेक्का प्रक्रियामा गएको थियो । तीन प्याकेजमा विभाजन गरी यस उपखण्डलाई कालोपत्र गर्न लागिएको छ । पूर्वी खण्डमा शुरुआतमै ट्र्याक खोलिएको भए पनि कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा सबैभन्दा ढिलो गरी यो उपखण्ड कालोपत्रको चरणमा पुग्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार