शैक्षिक क्षेत्रमा फड्को मार्दै इलामको सूर्योदय नगरपालिका

नारी-बुहारीलाई शिक्षा

फिक्कल : शिक्षा क्षेत्रमा सूर्योदय नगरपालिका जिल्लाको नमुना स्थानीय तहको रुपमा चिनिएको छ । शैक्षिक क्षेत्रका विभिन्न योजनाहरु अघि सारेको नगरले जिल्लामा अन्य स्थानीय तहको तुलनामा फरक रहेको नगर प्रमुख रणबहादुर राई बताउँछन् ।

‘ शिक्षा क्षेत्र हाम्रो मुख्य प्राथमिकतामा राखेका छौ । शिक्षामा अब्बल भए मात्र सर्वाङ्गिण विकास हुन्छ भन्ने सूर्योदयको मान्यता हो । ’ राईले भने । नगरले करफोक बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने बुहारीहरुको लागि सूर्योदयको इच्छा छोरी बुहारी शिक्षालाई बिगत ३ बर्ष देखि अघि बढाउँदै लगेको छ । बार्षिक रुपमा ६० जना बुहारीहरुलाई अध्ययनका लागि छात्रवृति प्रदान गर्ने नगर प्रमुख राईले बताए ।

बुहारी पढाउनका लागि चालु आर्थिक बर्षमा नगरले २५ लाख रुपैया बजेट बिनियोजना गरेको छ । सरकारी विद्यालयहरुमा शिक्षकहरुको उपस्थिती न्युन हुँदै गएपछि नगरले ३ बर्ष अघिबाट बायोमेट्रिक्स डिजिटल हाजिरीको व्यवस्था गरेको छ । नगर प्रमुख राईले दैनिक जसो नगरका सामुदायिक विद्यालयहरूमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरीको माध्यमबाट उनी प्रत्येक दिनको प्रत्यक्ष जानकारी कार्यकक्षमै बसेर लिन सक्छन् ।

‘ शिक्षक स्कुलमा हाजिर हुनुभएको छ, कुन समयमा स्कुल पुग्नुभयो र कुन समय फर्किनुभयो भन्ने प्रत्यक्ष जानकारी यहींबाट लिने व्यवस्था मिलाएका छौ । दैनिक ४ पटक शिक्षकहरुको हाजिरी हुन्छ ।’ राईले भने ‘ सबै सरकारी विद्यालयमा डिजिटल हाजिरीको कामलाई अघि बढाउँदै लगेका थियौ कोभिडका कारण करिब १ बर्ष कार्यान्वयनमा समस्या भयो । अहिले मौखिक रुपमा जानकारी गराएर पुर्ण रुपमा लागु गर्ने प्रयासमा छौ ।’

नगरले विद्यार्थीहरुको सर्वाङ्गि विकासको लागि १२ महिना १२ कार्यक्रम अघि सारेको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदै शैक्षिक विकासको लागि कार्यक्रम प्रभावकारी हुने अपेक्षा राखिएको छ । यस कार्यक्रमको लागि नगरबाट ५ लाख रुपैया बजेट चालु आर्थिक बर्षमा विनियोजना गरिएको छ । गणितमा बिषयको अभ्यास गराउने र गणितमा कमजोर रहेको विद्यार्थीहरुलाई सहयोग गराउने उद्धेश्यका साथ नगरपालिकाले ‘गणित बिषयसंग खेलौ गणितिय धारणा बनाऔ’ कार्यक्रम अघि सारेको छ ।

‘नगरमा रहेका समुदायिक र संस्थागत विद्यालयका कक्षा ८ र १० का विद्यार्थीहरुलाई नगरले ३ वटा अभ्यास पुस्तिका दिने गरेको छौ । जसका लागि १ महिनाको समय छुट्याइएको छ विद्यार्थीहरुले समयमा आफ्नो अभ्यास सक्नुपर्ने हून्छ ।’ राईले भने ‘ विद्यार्थीहरुले गणितलाई जटिल बिषयको रुपमा लिने गरेका छन् तर यो बिषय सहज छ भन्ने धारणाको विकास गराउनका लागि नयाँ कार्यक्रम ल्याएको हो ।’ नगरले यस बर्ष ४७ विद्यालयमा अभ्यास पुस्तिका वितरणको लक्ष्य राखेको छ । जसका लागि चालु आर्थिक बर्षमा ५ लाख रुपैया बजेट छ ।

प्राविधिक शिक्षामा विद्यार्थीहरुको अभिरुची स्थापना गराउने आइसिटी कार्यक्रम नगरमा अघि बढाइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट अध्यापन गराउन सकिने छ । सवै विद्यालयहरुमा इन्टरनेटको पहुँच नभएकाले कार्यक्रम सोचे अनुरुप उपलब्धीमुलक नभएपनि नयाँ नगर भएकाले विस्तारै इन्टरनेट र इन्ट्रानेटको माध्यमबाट कार्यक्रम अघि बढाउने राईले बताए ।

महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या अन्त्यका लागि नगरले सेनिटरी प्याड वितरण कार्यक्रमलाई अघि सारेको छ । संघीय सरकारको आर्थिक सहयोगमा गत बर्ष नगरको ४ वटा विद्यालयमा भेन्डिङ र डिस्ट्रोयर मेसिन वितरण गरेको छ ।

महिनावारी हुँदा छात्राहरु विद्यालय नआउने क्रम रोकिएको सरस्वती माविका प्रधानाध्यापक भक्तिप्रसाद भट्टराई बताउँछन् ‘ महिनावारी हुँदा छात्राहरु गुरुआमा खोज्थे अहिले विद्यालयमा भेन्डिङ मेसिन राखिएपछि आफै गएर प्याड लिन्छन् ।’ भट्टराईले भने ‘ छात्राहरु नियमित विद्यालय आउने क्रम पनि बढेको छ ।’

नगरमा यस बर्ष पनि सेनिटरी प्याड खरिदका लागि २६ लाख ८५ हजार बजेट विनियोजना भएको छ । ३ बर्ष अघिसम्म संस्थागत विद्यालयका विद्यार्थीहरु मात्र स्कुल बस चढेर विद्यालय जान्थे । तर आजकाल करफोक माविका विद्यार्थीहरु समेत स्कुल बसमा जान्छन् । २ बर्ष अघि नगरपालिकाले करफोक विद्या मन्दिरमा स्कुल बस व्यवस्थापनका लागि कर छुटमा उपलब्ध गराएको थियो ।

नगरपालिकाले आगामी बर्ष देखि लागु हुन गरी आफ्नै स्थानीय पाठ्यक्रम समेत बनाएको छ । आधाभूत तह कक्षा १–८ स्थानीयताबारे विद्यार्थीहरुलाई जानकारी गराउने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम २०७७ निर्माण सम्पन्न गरी पाठ्यपुस्तक लेखनको कार्यलाई अघि बढिरहेको छ । स्थानीय सरकार गठन भएपछि नगरपालिकाले चियाको पाठ्यक्रम बनाउन छलफल चलाएर प्रक्रिया अघि बढाएको थियो।

पाठ्यक्रम विकास केन्द्रले चिया अध्ययनसम्बन्धी केही प्राविधिक समस्या देखाएपछि विज्ञहरुसँगको छलफलपछि डेढ वर्षअघि शिक्षा शाखाका अधिकृत योगनिधि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरेर प्रक्रिया अघि बढाएको नगर प्रमुख राईले बताए। नगर क्षेत्रका ९० सामुदायिक र संस्थागत विद्यालयमा आगामी वर्षदेखि लागु गर्न तयारी अघि बढिरहेको शिक्षा शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिए।

पाठ्यपुस्तक लेखनका लागि नगर क्षेत्रका विद्यालयहरुबाट १४ जना शिक्षक छनौट गरेर तालिम दिइएको छ। विज्ञहरुबाट निरन्तर अनलाइन सहजीकरण गराउँदै पाठ्यपुस्तक लेखन कार्य अगाडि बढ्ने छ। पाठ्यक्रममा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषय समेटिएका छन्।

स्थानीय पाठ्यक्रम संविधानको कार्यान्वयनको एउटा पाटो समेत रहेको नगर प्रमुख राई बताउँछन्। ‘नेपालको संविधानको अनुसूची–८ मा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ,’ नगर प्रमुख राईले भने, ‘संविधानको कार्यान्वयन गर्नु सबै स्थानीय तहको कर्तव्य हो।’

नगर प्रमुख राईका अनुसार आधारभूत तहका विद्यार्थीले औपचारिक रुपमा आफ्नो गाउँ, समाज, भूगोलको वस्तुनिष्ट ज्ञान, स्थानीय सरकारको महत्त्व र आवश्यकता, गाउँमा प्रचलित भाषा, संस्कृति, ऐतिहासिक र धार्मिक महत्त्वका स्थानको जानकारीसमेत हासिल गर्नेछन् । लोकल सन्देशबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार