काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई अगाडि बढाउन नदिइएकामा आपत्ति जनाएका छन् । तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको प्रम ओली बताए ।
महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्न र पुरुष समान बनाउन आरक्षणको व्यवस्था गरिएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “महिलामाथि हुने भेदभाव असभ्यता हो, महिलामाथि गरिने असभ्य व्यवहार दण्डनीय छ, असमानता र विभेदको अन्त्य गर्न सरकार लागिपरेको छ ।”
लोकतन्त्र, सामाजिक न्याय, असमानता, उत्पीडन, शोषणविरुद्ध नेपाली नारीले उठाएका आवाजको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् भन्ने मनुस्मृतिको प्रसङ्ग सुनाउँदै नारीको सम्मानबाट हामी चुक्नु हुँदैन भने ।