प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता

  नयाँ बुलन्द  125 पटक हेरिएको


प्रचण्ड दोस्रोपल्ट बने नेकपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता चयन भएका छन् । नयाँबानेश्वरमा शुक्रवार बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चुनेको हो ।

नेकपा नेता सोमप्रसाद पाण्डेले प्रचण्ड दल नेता चयन भएका जानकारी दिए । ‘पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो,’ पाण्डेले भनेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्बाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीवार संघीय संसद सचिवालयलाई जानकारी गराइसकेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड र माधवकुमार नेपालले आधिकारिक पार्टी आफूहरु रहेको दाबी गरेका छन् ।

संविधान अनुसार संसदमा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदमा नेकपाको बहुमत रहेको छ । यसअघि ओली दल नेता रहेकाले प्रधानमन्त्री बनेका थिए । अब प्रचण्ड दल नेता बनेकाले प्रधानमन्त्री हुन्छन् कि हुँदैनन्, हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार