मिक्लाजुङ गाउँपालिकाको सभा सम्पन्न,कृषक प्रोत्साहन पुरस्कार १ करोड २६ लाख हस्तान्तरण

  युद्धबहादुर बोहोरा
0 Shares

 

 

 

 

पाँचथर : मिक्लाजुङ गाउँपालिकाको नवौं गाउँसभा विहीबार सम्पन्न भएको छ ।
सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको मापदण्ड अनुसार धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गरेको हो ।

पुरस्कृत हुनेहरु सबै कृषकलाई गाउँपालिका अध्यक्ष अमरराज माखिम र उपाध्यक्ष उर्मिला राईले नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

कृषि पेशामा आवद्ध रहेका उनीहरुलाई हौसला मिल्ने यस किसिमको कार्यक्रमले आम कृषकमा खुशी छाएको छ । स्थानीय सरकार प्रति खुशी व्यक्त गर्दै थप मेहनत र परिश्रम गर्ने जिम्मेवारी पाएको स्थानीयले महसुस गरेको छन् ।

सभामा कृषि सम्बन्धि नीति तथा कार्यक्रम समेत निर्माण गर्दै अन्य कार्यक्रमहरु समेत संशोधन गरिएको जनाइएको छ ।

कार्यक्रममा यस पालिकाको चालु तथा पुँजिगत योजना र कार्यक्रमको एकीकृत खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हरेक कार्यक्रमलाई तीव्रताका साथ संचालन र सम्पन्न गर्दै आएको यस पालिकाले गत आर्थिक वर्षमा जम्मा बजेटको ८४ प्रतिशत खर्च गरेको थियो भने, यस आर्थिक वर्ष २०७७/०७८ मा ४९ करोड १३ लाख ५३ हजार पाँच सय ८० रुपैयाँ बजेट मध्ये हाल सम्म ३८ प्रतिशत मात्रै कोभिड-१९ को प्रभावका कारण खर्च भएको लेखा अधिकृत दिपेन्द्र चेम्जोङले जानकारी दिए ।

आगामी दिनमा निर्धारित समयमा कार्यक्रमहरु संचालन तथा सम्पन्न गरि बजेट पूर्णरूपमा कार्यान्वयन गर्ने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।
पालिका अध्यक्ष माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राई,वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार