ताप्लेजुङका आगलागी पीडितहरुलाई पाँच लाख दिईने : गृह मन्त्री थापा


काठमाडौं : गृह मन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई प्रति परिवार पाँचलाख दिने बताएका छन ।

गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि सम्सोधन गरेर हिमाली भेगमा दिईने आवास निर्माणको लागि भुकम्प पीडित तथा बाढी पीडित सो सरह पाँच लाख प्रतिपरिवार दिने बताएका हुन ।

मन्त्री थापाले आगलागी पीडितको लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० बटा कम्बल र ५० वटा टेन्ड दिने बताए ।

ज्ञापन पत्र बुझाउन गएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुन स्थापनाको लागि भुकम्प पीडित सरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गरेका थिए उनले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुने गरी पानी ट्याङ्कीको ब्यवस्था,पीडितहरुलाई मर्का नपर्ने गरी ब्यवस्थित शहरको ब्यवस्था गरिदिन गृह मन्त्री थापासँग माग गरेका थिए ।

यता काठमाडौमा रहेका ताप्लेजुङबासीहरुबाट आर्थिक संकलन गर्न प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा एक समिति निर्माण गरेको छ सो समितिको सह—संयोजकमा पूर्व संविधान सभा सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहुन भएको छ । सदस्यमा क्रमश चित्रगुप्त साँवा ,डम्बरबहादुर तुम्वाहाम्फे,टंक श्रेष्ठ,रमेश बराल,बलबहादुर तामाङ, युवराज गुरुङ,तारादेवि श्रेङ,अग्नी पौडेल, नन्दु बनेम, पदमजंग आङवुहाङ रहेको छन । पूर्वमन्त्री भट्टराईले ५ लाख र प्रदेशसभा सदस्य आङबुहाङ ३ लाख रकम दिएर आर्थिक संकलन शुरु गरेको बताएका छन ।

मंगलवार ताप्लेजुृङको मेरिङदेन ३ दोभान बजारमा भएको आगलागीमा ४९ घर जलेर ध्वस्त भएको छ र त्यसबाट ७९ परिवारको सम्पूर्ण धनमाल नष्ट भएको छ ।

दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिको तर्फबाट प्रस्तुत
ज्ञापन–पत्र

माननीय गृहमन्त्रीज्यूु,
नेपाल सरकार
गृहमन्त्रालय सिंहदरबार, काठमाडौं ।

यही २०७७ साल फागुन १८ गते बिहान ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजार आगलागीमा परि नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको प्रारम्भिक तथ्यांक अनुसार आगलागीबाट ४९ घर जलेर ध्वस्त भएको छ र त्यसबाट ७९ परिवारको सम्पूर्ण धनमाल नष्ट भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभए पनि जस्तापाता र काठको अधिक प्रयोग भएका घरहरु, पसलको सामान र ग्याँस भण्डारण लगायतका कारण आगो तिब्र गतिमा फैलन गयो । साँघुरो बाटो, खुला ठाउँ नहुनु र दमकलको अभाव जस्ता कुराले आगो बेलैमा नियन्त्रण हुन नसक्दा कुनै पनि श्रीसम्पत्ति जोगाउन सकिने अवस्था भने  रहेन । जीवनभरी आर्जेको सम्पत्ति छिनभरमा खरानीमा परिणत भयो ।

उक्त घटनाको सम्बन्धमा छलफल गर्न ताप्लेजुङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराईले एक सर्वपक्षीय भेलाको आयोजना गर्नुभयो । सो भेलाले आगलागी पीडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउन मा. योगेश भट्टराईको संयोजकत्वमा एक समिति गठन गरेको छ । र, आगलागी पीडितहरुलाई राहत तथा सहयोगको लागि माननीय योगेश भट्टराईको तर्फबाट रु. ५ लाख रुपैयाँ र ताप्लेजुङबाट प्रदेशसभा सदस्य माननीय टंक आङबुहाङबाट रु. ३ लाख उपलब्ध गराउने प्रतिबद्धता सहित अग्नीपीडितको लागि ‘राहत तथा सहयोग अभियान’को सुरुवात भएको छ ।

माननीय मन्त्रीज्यू,

आगलागी पीडितहरुले आफ्नो घर, व्यवसाय, जायजेथा सबै गुमाएका छन् । जनस्तरबाट हुने सहयोगले मात्रै उनीहरु पुनस्र्थापित हुने अवस्था छैन । उनीहरुलाई नेपाल सरकारको तर्फबाट राहत तथा पुर्नस्थापनाको लागि सहयोगको खाँचो छ । त्यसैले माननीय गृहमन्त्रीज्यू समक्ष पीडितहरुको राहत र सहयोगको लागि आशा र विश्वासका साथ यो ज्ञापनपत्र पेश गर्दछौं ।

हाम्रा मागहरु ः
१. आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गराईदिनुहुन ।
२. दिर्घकालीन पुनःस्थापनाका लागि अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराई दिनहुन ।
३. पहाडी भेगको ग्रामिण बजारहरुमा आगलागीबाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्याङ्कीको ब्यवस्थापनका लागि आवश्यक व्यवस्था गराई दिनुहुन ।
४. आगलागी पीडितहरुका लागि पीडितहरुको हितमा ‘ब्यवस्थित शहरी विकास आयोजना’को व्यवस्था गरिदिनु हुन ।

अग्नीपीडित राहत तथा सहयोग समितिको तर्फबाट ःः
१. संयोजक ः मा. योगेश भट्टराई, प्रतिनिधिसभा सदस्य
२. सहसंयोजक ः मा. पासाङ शेर्पा, संविधानसभा सदस्य
३. सहसंयोजक ः मा. टंक आङबुहाङ, प्रदेशसभा सदस्य
४. चित्रगुप्त साँवा ः अध्यक्ष, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं
५. डम्बरबहादुृर तुम्वाहाम्फे ः अध्यक्ष, ताप्लेजुङ समाज नेपाल
६. टंक श्रेष्ठ ः उपाध्यक्ष, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं
७. रमेश बराल ः उपाध्यक्ष, ताप्लेजुङ समाज नेपाल
८. बलबहादुर तामाङ ः उपाध्यक्ष, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं
९. युवराज गुरुङ ः उपाध्यक्ष, ताप्लेजुङ समाज नेपाल
१०. तारादेवी श्रेङ ः उपाध्यक्ष, ताप्लेजुङ समाज नेपाल
११. अग्नी पौडेल ः महासचिव, ताप्लेजुङ समाज नेपाल
१२. नन्दु वनेम ः महासचिव, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं
१३. पदमजंग आङबुहाङ ः सचिव, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं१९ फागुन २०७७ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार