पाँचथरमा दोस्रो चरणको कोभिड विरुद्धको खोप २४ हजारलाई लगाइने, फाल्गुनन्दमा यस सम्बन्धि अन्तरक्रिया

  युद्धबहादुर बोहोरा  236 पटक हेरिएको

ú

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा कोभिड -१९ रोग विरुद्धको राष्ट्रिय खोप अभियान २०७७/०७८ अन्तर्गत एक दिने अन्तरक्रिया बुधबार सम्पन्न भएको छ ।
पालिका समन्वय समिति तथा वडा खोप समन्वय समितिले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

कोभिड खोपको महत्त्व बारे प्रष्ट पार्न र यस बारे जनस्तरमा चेतनाको विकास गर्ने उदेश्यले आयोजना गरिएको उक्त
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी सहित पब्लिक हेल्थ नर्स अनिता सुब्बा र ल्याब टेक्निसियन रमा पाण्डे सहितको टोलीले सहजीकरण गरेको पालिका स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।
पालिका तथा वडा खोप समन्वय समितिको जिम्मेवारी,खोप केन्द्रको अनुगमन,खोपको लागि स्वयंसेवक परिचालन,व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

 

दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ५५ वर्ष उमेर पुगेका व्यक्तिलाई यही फागुन २३ गतेदेखि प्रत्येक वडामा २८ गतेसम्म खोप लगाइने अभियानमा पालिका भित्र कोहि असक्त,अपाङ्ग र खोप केन्द्र सम्म हिंडेर आउन नसक्ने इच्छुकलाई पालिकाले व्यवस्था मिलाउने अध्यक्ष कुरुम्बाङले कार्यक्रममा बताए ।
खोप अभियान सबैको उत्तिकै जिम्मेवारी भएको हुँदा सहयोग गर्नुपर्ने बताउँदै उनले भने, कोभिडको खोपको असर हुन्छ भन्ने भ्रमित हल्लामा अल्मल नगरी निर्धक्क भएर खोप लगाउन समेत आग्रह गरे ।
खोप कार्यक्रमको व्यवस्थापन तथा महिला स्वयंसेविका परिचालन लगायत पालिकाले व्यहोर्नुपर्ने आवश्यक पारिश्रमिक र अन्य सुविधा तोकिएको नियम अनुसार पालिकाले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।
छलफलबाट पालिकाका प्रत्येक वडाका पाँच स्थानमा यस अघि नियमित संचालन हुने खोप केन्द्रमा कोभिड खोप लगाइने निर्णय सहित तालिका तयार गरि उपस्थित सहभागीहरुलाई प्रदान गरेको छ ।
स्वस्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार पाँचथर जिल्लामा जम्मा २४ हजार दुई सय ५० जना ५५ वर्ष माथिका नागरिकले खोप लगाउने स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए। यस अन्तर्गत फाल्गुनन्द गाउँपालिकामा तीन हजार जना ५५ वर्षका नागरिक रहेको बताए । यस चरणमा फाल्गुनन्द सहित जिल्लाको दक्षिणी गाउँपालिका मिक्लाजुङ्ग,कुम्मायक र तुम्वेवामा खोप लगाइने छ भने अन्य स्थानीयतहमा चैत २ गतेदेखि लगाइने उनले जानकारी गराए ।
कार्यक्रममा शिक्षण संस्था,सुरक्षा निकाय,स्वास्थ्यकर्मी,महिला स्वयंसेविका,रेडक्रस सोसाइटीका प्रतिनिधि,सरोकारवाला र पार्टी प्रतिनिधिहरु उपस्थित रहेको कार्यक्रम फाक्तेप स्वास्थ्य चौकीका निमित्त इन्चार्ज बालकृष्ण दाहालले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार