सरकार पक्ष र विप्लव नेकपा बीच द्विपक्षीय वार्ता टोली गठन

  नयाँ बुलन्द  121 पटक हेरिएको

 

इलाम : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरि २ सदस्ययीय उच्चस्तरीय वार्ता टोली गठन गरेको जनाएका हुन् । स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको थियो।
वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको नेकपाले बनाएको छ । तर आज जारी विज्ञप्तीमा भने वार्ताका एजेन्डाबारे केहि उल्लेख छैन ।


अब तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिने नेकपाका एक नेताले बताए । नेकपासँग वार्ताका लागि सरकारले पनि मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउँदै हतियार मुद्दालगायतका विषय भने वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सरकारले विप्लव नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले विप्लवसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, नेकपाले आधिकारीक रुपमा आफ्नो पार्टीसँग वार्ता गर्न आधिकारीक वार्ता टोली नबनाएको भनेपछि वार्ता हुन सकेको थिएन ।मिर्मिरेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार