काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको थप पचास लाख डोज खोप किन्ने तयारी गरेको छ । भारतको सेरम इन्सिट्युटले नै उत्पादन गरेको खोप सरकारले खरिद गर्ने भएको हो ।
२० लाख डोज खोप अभियानकै क्रममा सरकारले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया अघि बढाउने भएको हो । “५० लाख खोप किन्ने प्रक्रिया अघि बढेको छ, यो अभियान (२० लाख खोप) सकिने बित्तिकै उपलब्ध गराउने तयारी गरेका छौं”, प्रवक्ता गौतमले भने ।
खोप केन्द्रमा गएर नागरिकताका आधारमा नै खोप लगाउन सकिने प्रवक्ता गौतमले बताएका छन् । सो उमेर समूहकाहरुलाई लगाइसकेपछि बाँकीले लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले राजनीतिक र कूटनीतिक प्रयासबाट चाँडै खोप ल्याउन सफल भएको बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ । यसका लागि सार्वजनिक खरिद ऐनको बाधा अड्काउ फुकाऊ गराएर यसको उपलब्धता गराएका छौँ । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खोपको खरिदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन ।”