इलाम : योङहाङ समाज, इलामले केन्द्रदेखि वडासम्म आफ्नो संगठन विस्तार गर्ने भएको छ । हिजो सम्पन्न समाजको प्रथम साधारण सभाबाट सो निर्णय पारित गरेको हो । समाजको विधान संशोधन गरी सो कार्यको लागि अगाडी बढ्ने समाजले बाटो खोलेको हो ।
आदिवासी लिम्बुहरुमध्ये योङहाङ थरका लिम्बूहरुकाे संख्या नेपालमा विशिष्ठ स्थानमा रहेको पाइन्छन्। इलाम जिल्लामा समेत योङहाङहरुको विशिष्ट स्थान रहेको छ । हाल इलाममा योङहाङ समाज इलाम नामक संस्था योङहाङहरुको उत्थानको लागि सक्रिय रहेछ छ ।
संसारका योङहाङहरु एक हौ भन्ने नाराका साथ समाजले सबै भन्दा पहिले इलाम जिल्लाका १० स्थानीय तहहरुमध्ये योङहाङहरुको बसोबास रहेको ७ वटा स्थानीय तहहरुमा आफ्नो संगठनको शाखाहरु निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै ती स्थानीय तहका वडाहरुमा समेत योङहाङ समाजको वडा शाखा गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै समाजले सम्भव भएसम्म विभिन्न जिल्लाहरुमा समेत आफ्नो शाखा विस्तार गर्ने भएको छ । त्यस्तै विभिन्न मुलुकहरुमा समेत आफ्नो शाखा विस्तार गर्ने योजना रहेको समाजले जनाएको छ । तर विदेशी मुलुकहरुमा भने आवश्यकता अनुसार विस्तारै मात्र शाखा विस्तार गर्ने समाजको योजना रहेको छ ।
त्यस्तै समाजले एक घर एक सदस्यता वितरण गर्ने निर्णय गरेको छ।सबै भन्दा पहिले गाउँपालिकास्तरीय शाखा विस्तार गर्ने त्यसपछि वडा शाखा विस्तार गर्ने र ती शाखाहरुलाई तत् तत् निकायमा योङहाङहरुलाई एक घर एक सदस्यता वितरण गर्नैपर्ने नीति समाजले बढाएको छ । यसो हुँदा योङहाङहरुको तथ्याङ्क समेत सहज रुपमा संकलन हुने समाजका अगुवाहरुले वताएका छन् ।
योङहाङहरुको बसोबास भारतका बर्मा दार्जिलिङ सिक्किम मिरिक आसाम भूटान अमेरिका हङकङ लगायतका मुलुकहरुमा विश्वभर छरेर रहेको पाइन्छ ।
हुन त योङहाङहरुको क्षेत्रमा काम गर्न योङहाङ समाज इलाम मात्र रहेको छैन । झापामा किरात योङहाङ कुल वंश प्रतिस्ठान, काठमाण्डौँमा योङहाङ समाज र पाँचथर लगायतका जिल्लाहरुमा समेत योङहाङहरुको संगठन सक्रिय छन् । ती सबै संगठनहरुले एकता भएर योङहाङहरुको मूल विषय वंशावली प्रकाशन गर्न सकिरहेको छैन ।
योङहाङ समाज इलामले योङहाङ सम्बद्ध सबै संगठनहरुसँग समन्वय गरी अघि बढ्ने समेत नीति बनाएको छ । तर अहिलेसम्म केन्द्रीय कार्यसमिति कसलाई मान्ने भन्ने चाहीँ अलमलमा रहेको जनाईएको छ । सबै संगठनहरु एक भई निचोड निकालेर अघि बढ्नु विकल्प नरहेको समाजका अगुवाहरुले वताएका छन् ।
समाजका अध्यक्ष पञ्चवहादुर योङहाङकाे अध्यक्षतामा फाकफाेकथुमकाे एकतप्पामा सम्पन्न पहिलाे साधारण सभा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष एवम् समाजका कानुनी सल्लाहकार यामप्रसाद लिम्बूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । सभामा अध्यक्षद्वारा प्रस्तुत भावी कार्ययाेजना एवम् हालसम्मकाे गतिविधिमाथि समीक्षा भएकाे थियाे ।
समाजकाे आर्थिक वर्ष २०७६।०७८ काे आर्थकि लेखापरीक्षण तथा समाजका सचिव दीपक कुमार याेङहाङले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन समेत सभाले सर्वसम्मत पास गरेकाे छ । कार्यक्रममा योङहाङ कुल वंश प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद योङहाङ समाजका सल्लाहकार छत्र योङहाङ लगायतले मन्तव्य राखेका थिए ।