सवारी चालक अनुमतिपत्र नवीकरण इलामबाटै

इलाम : सवारी चालक अनुमतिपत्र नवीकरणको सेवा प्रवाह सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय इलामले एक कार्यक्रमको आयोजना गरी लाइसेन्स नवीकरणको सेवा सुरु गरेको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको टोलिले लाईसेन्स नवीकरण सफ्टवेयरको परिक्षण गरेको थियो । नवीकरण सफ्टवेयरको परीक्षण सफल भएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले जानकारी दिए । टोलिले ३ जनाको सवारी चालक अनुमतिपत्र नवीकरण सफ्टवेयर परीक्षण गरेको थियो ।

कार्यालयले अबदेखि जुनसुकै सवारी चालक अनुमतिपत्रको नवीकरण इलामबाटै नियमित गर्ने भएको छ । तर नियमित काम भने आगामी अर्को सातादेखि मात्र हुनेछ । आवश्यक जनशक्तिको अभावका कारण आवश्यक तयारी गर्न एक साता लाग्ने कार्यालय प्रमुख खतिवडाले बताए । ‘हामीसँग सम्बन्धित कामका लागि दक्ष जनशक्तिको पर्याप्तता छैन । भएका कर्मचारीलाई नै आवश्यक तालिम दिएर काम गर्नुपर्ने वाध्यता छ’ कार्यालय प्रमुख खतिवडाले नयाँ बुलन्दसँग भने, ‘तालिम दिएर काम सुरु गर्नुपर्ने भएकाले आइतबार/सोमबारदेखि मात्र नियमित काम हुन्छ ।’

यस अघि लाइसेन्स नवीकरणका लागि ताप्लेजुङ, पाँचथर र इलामका नागरिक यातायात व्यवस्था कार्यालय झापा पुग्नुपर्ने बाध्यता थियो ।

लाइसेन्स नवीकरण गर्ने सेवा सुरु गरेपनि नयाँ लाइसेन्सको लिखित परिक्षा, ट्राएल परीक्षा गर्ने र लाइसेन्स वितरणका लागि भने अझै केहि समय लाग्ने कार्यालयका कार्यालय प्रमुख खतिवडाले जानकारी दिए । अनुमतिपत्र वितरण आगामी वैसाखदेखि सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । चालक अनुमतिपत्रको लागि आवश्यक पर्ने ट्राएल सेन्टरको निर्माण कार्य सम्पन्न भएपनि माथिल्लो निकायबाट अनुमति नआएकाले काम सुरु गन नसकिएको कार्यालय प्रमुख खतिवडाले बताए ।

हाल सो कार्यालयबाट नयाँ सवारी दर्ता, सवारी नामसारी, सरुवा सहमति, ब्लुबुक नवीकरण, बाटो इजाजत, जाँचपास, सवारी पञ्जीकरण, पटके इजाजत दिने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार