
काठमाडौं – पूर्व माओवादी तर्फका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता तिलक परियारलाई २ नम्बर प्रदेश प्रमुखबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त गरेपछि नेपाली कांग्रेसले विरोध जनाएको छ ।
राष्ट्रपतिले परियारलाई बर्खास्त गरेर राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । ‘२ नम्बर प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’
संसद विघटनको असंवैधानिक कदमपश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति काम गर्न बिल्कुलै नमिल्ने विज्ञप्तिमा उल्लेख छ । ‘अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।