बैतडी : नेपाली काँग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।
उक्त समूहले ढुङ्गा मुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो । उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए । नेता भट्टका अनुसार आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो । जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए ।