पवित्रहाङमा कपमा शनिबार सेमीफाइनल हुँदै

  नयाँ बुलन्द  100 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करणको फूटबल प्रतियोगितामा शनिबार सेमीफाइनल खेल हुँदैछ ।

फाइनल प्रवेशका लागि पहिलो सेमीफाइनलमा धरान फुटबल क्लब सुनसरी र रोयल स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन् । दोश्रो तथा अन्तिम सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र एपिएससी माङसेबुङबीच प्रतिष्पर्धा हुँदैछ ।

यसअघि शुक्रबार भएको तेस्रो र चौथो क्वार्टरमा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी विजेता बन्दै सेमीफाइनलमा प्रबेश गरेका थिए ।

शुक्रबारको पहिलो खेलमा खदम स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै धरानले सेमीफाइनलको यात्रा तय गरेको थियो ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

दोस्रो खेलमा सतिसाले एफसी मोरङलाई १-० को कठिन जित निकाल्दै माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतराले सेमीफाइनलको यात्रा तय गरेको थियो ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार