पवित्रहाङमा कपः धरान र सुनसरी सेमीफाइनलमा प्रवेश

  नयाँ बुलन्द  89 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमी फाइनलमा प्रबेश गरेको छ ।

शुक्रबार खदम स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै धरान अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको तेस्रो मिनेटमा समिक्षा मगरले गोल गर्दै धरानलाई अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको इन्जुरी समयमा ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सतिसाले एफसी मोरङ र माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतराबीच भएको थियो ।

सतिसालेकी कोपिला लिम्बूले खेलको ५ मिनेटमा पहिलो गोल गरेपनि माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीले १६ औं मिनेटमा पवित्रा राईले खेल बराबरीमा ल्याएका थिए ।

मध्यान्तर पश्चात चतराले खेलाडी परिवर्तन गरेका रचना राईले १९ औ मिनेटमा अर्को गोल गर्न पुगिन र टिमलाई अग्रता दिलाइन । निरन्तर दवाबमा परेका सतिसाले खेलमा फर्किन सकेन अन्तत १ गोलमा चित्त बुझाउदै घर फर्कनु परेको थियो । । खेलको प्लेयर अफ दि म्याच चतराकी पवित्रा घोषित भइन् ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिता अन्तरगत शनिबार दुई सेमी फाइनल खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी माङसेबुङबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगितको फाइनल आइतबार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार