शौच गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार, आरोपी भारत भागे

  नयाँ बुलन्द
0 Shares

विराटनगर : मोरङमा जहदा गाँउपालिका– १ की १४ वर्षीया बालिका रातको समयमा शौच गर्न घरबाट बाहिर निस्किएका बेला बलात्कारको सिकार बनेकी छन् । बालिकामाथि सामूहिक बलात्कार भएको हो । अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । घटना गत सोमबार राति ९ः३० बजेतिरको हो । घरमा शौचालय नभएपछि राति उनी शौच गर्न घरनजिक रहेको सडकको नालीमा पुगेकी थिइन् । त्यही बेला मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगेको र डेढ किलोमिटर परको बारीमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बालिकाले प्रतिकार गर्न खोज्दा मुख थुनेर लगिएको डीएसपी थापाको भनाइ छ ।

शौचालय गर्न निस्कीएकी छोरी नफर्किएपछि परिवारले खोजी गरे । मोटरसाइकलमा लैजाँदै गरेको छिमेकीले पनि देखेका थिए । नफर्किएपछि हल्लाखल्ला भयो । राति करिब ११ बजे गाउँले खोजी गर्न निस्किए । तर फेला पार्न सकेनन् । सम्पर्कविहीन बनेको करिव दुई घण्टापछि बालिका आफन्तको सम्पर्कमा आइन् । आफूमाथि करणी भएको बताएपछि गाउँलेले दुई युवकको खोजी गर्न थाले ।

राति खोजी गर्दा नभेटेपछि करिब १ बजे प्रहरीलाई खबर गरे । ‘घटना लगतै प्रहरीलाई जानकारी भएन् । गाउँले खोजी गर्न निस्किँदा हल्ला भएपछि आरोपीहरु भागे,’ डीएसपी थापाले भने ‘घटनामा संलग्नहरुको पहिचान भइसेकेको छ ।’ घटनास्थल नेपाल भारत सीमा नजिकै पर्छ । राति नै हल्ला भएपछि आरोपी भारत भागेको प्रहरीको दाबी छ । स्थानीयबासीका अनुसार सोमबार दिउँसो ति युवक टोलमा मोटरसाइकलमा घुमिरहेका थिए । राति बाटो ढुकेर बसेकाहरुले जबरजस्ती उठाएर लगेको प्रहरीले बताएको छ ।

‘बेलैमा हामीलाई खबर गरेको भए तत्कालै ती युवक पक्राउ पर्थे,’ थापाले भने ‘गाउँलेले खोजी गर्दा नभेटेपछि मात्रै हामीलाई खबर गरे । खोजविन गर्दै जादा एउटा घरमा मोटरसाइकल छाडेर भागेको देखियो ।’ उनका अनुसार पीडित युवतीको गाउँ भन्दा अर्काे गाउँमा आरोपीहरुको घर छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले जहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको छ । प्रहरीले बालिकाको अपहरण र बलात्कारमा प्रयोग गरिएको को २२ प १८१६ नम्बरको मोटरसाइकल उदितचन्द यादवको घरमा फेला पारेको छ । भाग्ने क्रममा पेट्रोल सकिएपछि मोटरसाइकल छाडेर भागेको थापाले बताए । उनले घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको बताए । घटनाको अनुसन्धान गर्ने जिम्मा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापालाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार