इलाम : दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन् ।
गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सबै डटेर लाग्नु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग गर्न नसकेको भन्दै वरिष्ठ नेता खनालले ओली सहमतिविना आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको जिकिर गरे ।
उता नेता जनार्दन शर्माले ओली प्रवृत्तिको उदेश्य लोकतन्त्र र संविधान खारेज गर्ने रहेको आरोप लगाए । संविधानलाई बचाउन आन्दोलन गर्नुपर्ने र केपी प्रवृत्ति बुझेर अघि बढ्नुपर्ने बताउँदै उनले ओली प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलन सफल नहुने बताए ।
मुख्यमन्त्री शेरधन राई टोले गुन्डा शैलीमा उत्रिए : आङ्बो
यता नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश एकका पुर्व अर्थमन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले टोले गुन्डाको शैली अपनाएको आरोप लगाए । प्रशिक्षण कार्यक्रममा बोल्दै आङ्बोले कागजको टुक्रोमा लेखेको आधारमा पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा संसद बैठकमा टोले गुन्डाको शैलीमा थर्काउने धम्क्याउने जस्ता क्रियाकलापमा अघि बढेको बताए ।
उनले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च ¥याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाह गरे जस्तो ओलीले ¥याली गरिरहेको बताए । गृहमन्त्री रामबहादुर थापा बादललाई इङिगत गर्दै उनले भने ‘दिमागमा धेरै जोड दिएपछि मान्छेले आफुले बोलेको कुरा हेक्क रहदैन अहिले बादल कामरेडलाई पनि त्यस्तै भएको छ । स्टेजमा बोल्नुपर्ने कुरा उहाँ आमसभामा बोल्दै हिड्नुहुन्छ तेश्रो जनआन्दोलन सुरु भयो भनेर’
उनले बादललाई स्थापित गराएर आजको अवस्थामा ल्याउनेलाई जेल कोच्छु भन्दै हिड्नु र प्रतिगमनलाई साथ दिनु गलत भएको बताए । १८ बर्षको सहकार्यमा पार्टी विभाजन देखि एकतासम्म बादलको साथ रहँदा उनको हैसियतको बारेमा जानकारी भएको आङ्बोले बताए ।
आइ लभ यु ओली बा
नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले आइ लभ यु ओली बा भनेर कम्युनिष्ट टिक्न नसक्ने बताए । उनले आगामी २८ गते हुने आमसभामा सक्रिय रुपमा सहभागिता जनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै पुर्व सांसद समेत रहेका प्रदेश कमिटी सदस्य मणी सुब्बाले रत्नकुमार बान्तवाको शहिद भुमिमा प्रतिगमनकारी र कम्युनिष्ट विरोधीहरु बढारिने चेतावनी दिए । उनले संसद पुर्नस्थापना हुनका साथै सूर्य चिन्ह प्रचण्ड–माधव समुहमा नै रहने भएकाले ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।
पुर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई लक्षित गर्दै २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएपनि आफैले लेखेको संविधानको पालना नगर्ने नेम्बाङ कम्युनिष्टको खोल आडेर हिड्नुको अर्थ नहुने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको प्रशिक्षणमा पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यता र स्थायी कमिटी सदस्य जनार्दन शर्माको विशेष आतिथ्यतामा भएकाे कार्यक्रममा भक्त केसीको अध्यक्षता रहेकाे थियाे ।