काठमाडौँ : नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार गरेको आम हडताल क्रममा प्रहरीले देशभरबाट १ सय ८८ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आम हडतालमा निस्किएका मध्ये देशभरबाट १ सय ८८ जनालाई पक्राउ गरिएको र गैह्र कानुनी काममा संलग्नलाई बाहेक अरूलाई छाड्न थालिएको जानकारी दिए ।
‘देशभरबाट १ सय ८८ जना पक्राउ परेका थिए, पक्राउ परेकाहरूलाई छाड्दै छौँ, गैह्र कानुनी काममा संलग्नलाई बाहेक अरूलाई छाडिन्छ,’ प्रहरी प्रवक्ता कुँवरले हाम्रा कुरासँग भने । कुँवरका अनुसार बिहीबारको आम हडतालका क्रममा बन्दकर्ताले देशभर गरी ३२ वटा सवारी साधनमा क्षति पुर्याएका छन् । त्यसमध्ये तीन सवारी साधन सरकारी छन् भने अन्य सार्वजनिक सवारी साधन हुन । यस्तै एक ट्याक्सीमा आगजनीसमेत भएको छ ।
प्रहरीले काठमाडौँ उपत्यकाबाट मात्रै सवारीलाई अवरोध गर्ने, पसल बन्द गराउँदै हिँड्ने र सवारी साधनमा तोडफोड गर्नेहरू ८१ जनालाई पक्राउ गरेको थियो । प्रहरीले नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित काठमाडौँबाट नेताहरू हितमान शाक्य, अमृता बोहरा, विजय पौडेल, रमेश मल्ल लगायतलाई पक्राउ गरेको थियो ।