पाँचथर : फाल्गुनन्द गाउँपालिकामा माघ १४ गतेदेखि संचालन भएको स्वास्थ शिविर मंगलबार सम्पन्न भएको छ ।
शिविरमा सात वटा वडाका जम्मा चार सय ८५ जना नागरिकले स्वास्थ सेवाको सुविधा लिएका छन् ।
यस अघि पालिका भित्रका पुराना दुई सय ४६ जना र हाल सबै वडाका नयाँ ७७ जना पुरुष तथा महिला गरि तीन सय २३ जना अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण,परिचयपत्र वितरण,नविकरण तथा सहायक सामग्रीहरु समेत उनीहरुलाई वितरण गरिएको छ ।
गाउँपालिका,सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसनको साझेदारीमा संचालित अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सातै वडामा संचालन भएको हो।
हप्ता दिने शिविरमा प्रत्येक वडा र टाेलका दृष्टि विहिन,जन्मजाता अपांग ,अंगभङ्ग भएका,अंग नचल्ने,काननसुन्ने,बोल्न नसक्ने,नाक तथा घाँटीको समस्या लगायत फिजोयोथेरापी सेवा सहितको परीक्षण तथा उपचार प्रदान गरिएको कार्यक्रम संयोजक राजेन्द्र भट्टराईले जानकारी दिए ।
शिविरमा फिजिसियन डाक्टर बालकुमार सुब्बा,फिजियोथेरापीस अनिल रिमाल,कान रोग विशेषज्ञ देबिन कुमार यादव,आँखा रोग विशेषज्ञ ललन राय, चिकित्सक राम कृपाल शर्मा लगायतको टोली संलग्न रहेकोे जनाइएको छ ।
पालिका भित्रका सबै नागरिकलाई प्रभावकारी स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यका साथ पालिकाको तर्फबाट अध्यक्ष वीरबहादुर कुरुम्वाङ,उपाध्यक्ष देबित्रा कुमारी आङ्देम्बे,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,कार्यक्रम संयोजक भट्टराई,सिविआरएफ तीन जना सहित जम्मा नौ जनाको टोली प्रत्येक वडामा स्वास्थकर्मीको साथमा परिचालन भएको अधिकृत तुम्रोकले बताए ।
करुणा फाउन्डेसनको प्राविधिक सहयोग तथा साझेदारीमा एक नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथर जिल्लाका स्थानीय तह मध्ये तुम्वेवा,मिक्लाजुङ्ग,फालेलुङ र फाल्गुनन्दमा भर्खरै शिविर सम्पन्न भएको छ ।
यसैगरी कुम्मायकमा माघ २३ गते देखि ,हिलिहाङमा माघ २४ गते देखि र फिदिम नगरपालिकामा फागुन ३ गतेदेखि शिविर संचालन हुने करुणा फाउण्डेसन पाँचथरका अधिकृत धर्मनारायण शर्माले जानकारी दिए । याङ्वरक गाउँपालिकामा भने अर्कै संस्थाले सहकार्य गरेको उनले बताए ।