झलनाथ र सुवासको विश्वास गरेर भोट दिने इलामेली जनता अहिले पछुताएका छन् : कांग्रेस नेता खड्का

  नयाँ बुलन्द
21 Shares

समाजसेवालाई सौख र राजनीतिलाई कर्म ठान्ने डम्बर खड्का देशका आशालाग्दा युवा नेता हुन् । दस वर्षदेखि इलामेली जनताका दुःख–सुुखमा सहयोग गर्दै आएका खड्का कहीँबाट विकास र सहयोग गर्न माग भए साँझबिहान पनि भन्दैनन् । इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नामले पनि परिचित छ ।

तर, देशकै ‘हेभिवेट’ यी दुई नेताको गृहजिल्ला इलाम भने विकासमा निकै पछाडि छ । छिमेकी झापा जिल्लाले आर्थिक फड्को मारिसक्दा पनि इलाम भने अझै पछाडि नै छ । यी सबै हुनुको दोष उनी कम्युनिस्ट नेता खनाल र नेम्वाङलाई नै ठान्छन् ।

जबसम्म यी दुईलाई इलामेली जनताले विश्वास गरिरहन्छन्, तबसम्म जिल्लामा विकासका काम अघि बढ्दैन भन्ने ठहरका साथ खड्काले समाजसेवाबाटै कांग्रेसको राजनीति अघि बढाएका छन् । उनीसँगको अन्तर्वार्ता :

प्रधानमन्त्री केपी ओलीको हठात प्रतिनिधिसभा भंग गर्ने निर्णयलाई कसरी हेर्नुभएको छ ?
– यो निर्णय देशका लागि दुर्भाग्य हो । केपी ओलीको यो कदमले देश र जनतालाई आर्थिक भार बोकाउँछ । र, यो निर्णयले लोकतन्त्र नै समाप्त हुने अवस्था उत्पन्न भएको छ । लोकतन्त्रमाथि नै जनताले प्रश्न चिन्ह उठाउने गरी चालिएको यो निर्णय गैरसंवैधानिक छ ।

दुई तिहाइ बहुमत दिनोस्, हामी विकास र समृद्धि दिन्छौं भन्दै जनतासँग भोट मागेर सरकारमा पुगेका कम्युनिस्टले देश चलाउन नसक्ने भए, होइन त ?

– देश चलाउन सक्दैनन् भन्ने त हामीहरूले भन्नै पर्दैन, उनीहरूको गतिविधिले नै स्पष्ट पारेको छ । सारा संसारले देखिसकेका छन् । यो गतिविधिले देश चल्न पनि सक्दैन । ओली शासनमा भ्रष्टाचार, हत्या, हिंसा, अराजकता बढेको छ । संसद् नै विघटन गरिसक्नुभयो । यो तरिकाले देश कसरी चल्न सक्छ र ? चल्दैन । अब कुन मुखले म देशलाई समृद्ध बनाउँछु भन्लान् जनतासामु् ?

प्रतिनिधिसभा भंग भएपछि त्यसलाई कसरी लिने, संसद् पुनःस्थापनालाई प्रमुख एजेन्डा बनाउने कि नबनाउने भन्नेमा नेपाली कांग्रेसमा विवाद देखिएकै हो ?

– यो विवाद नेपाली कांग्रेसमा देखिएको जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेसले सर्वोच्च अदालतको निर्णयलाई पनि सम्मान गर्छ । र, जनतासामु जान नेपाली कांग्रेस कहिल्यै पनि डराउँदैन । जुनसुकै बेला पनि निर्वाचनमा जान नेपाली कांग्रेस तयार छ । सर्वोच्च अदालतले संसद्लाई ब्यूँतायो भने त्यसलाई पनि नेपाली कांग्रेसले सम्मान गर्दछ ।  व्यक्तिगत रूपमा नेपाली कांग्रेसका नेताहरूका आ–आफ्नै विचार होलान् । यो वा त्यो भन्ने नेताहरूका विचार फरक कुरा हो । तर, कांग्रेसले आधिकारिक रूपमा यससम्बन्धी निर्णय भने ल्याइसकेको छैन ।

आफ्नै पार्टीको बैठक राख्नबाट डराएर भाग्ने ओलीले वैशाखमा निर्वाचन गराउलान् त ?

– पहिलो कुरा त कम्युनिस्ट सरकारले निर्वाचन गराउँछ भन्ने कुरामा म विश्वस्त छैन । त्यसकारण वैशाअमा निर्वाचन हुन्छ जस्तो लाग्दैन । यदि भइहाल्यो भने त्यो अकल्पनीय हुन्छ । किनभने कम्युनिस्ट सरकारले निर्वाचन गराउनु आफैंमा ठूलो र महत्वपूर्ण कुरा हो । अहिलेको अवस्था हेर्दा केही भन्न सकिने अवस्था छैन । जनता विश्वस्त छैनन् ।

वैशाखमा निर्वाचन नभए के हुन्छ ? देशमा कुनै त्यस्तो निरंकुश शक्ति आउने देख्नु हुन्छ ?

– जहानिया राणा शासन, पञ्चायत जस्तो निरंकुश शासन नेपाली कांग्रेसले फाँडेको हो । हिजोअस्ति हामीले प्रतिपक्ष पनि चाहिन्छ भनेर बीपीको पालामा कम्युनिस्ट पार्टी ल्याएका हौं । त्यसैले कम्युनिस्ट सरकार धेरै लामो समय टिक्छ भन्ने मलाई लाग्दैन । यो उनीहरूको बलबुत्तामा हुने कुरा पनि भएन । केपी ओलीको निरंकुशता धेरै दिन रहँदैन ।

प्रसंग बदलौं, इलामका कांग्रेस नेताहरु सधैं सुवासचन्द्र नेम्वाङ र झलनाथ खनालको छायाँमा पर्दै आएका छन् नि किन होला ?

– इलामेली जनताले दुईजना कम्युनिस्ट नेताको धेरै भर गरे । एकजना झलनाथ खनालज्यू प्रधानमन्त्री हुनुभयो । उहाँ पार्टी (तत्कालीन एमाले) अध्यक्ष पनि हुनु भो । सुवासचन्द्र नेम्वाङ सभामुख हुनु भो । यतिको माथिल्लो पद र ओहोदामा पुगेका कम्युनिस्ट नेतालाई पहिले इलामेली जनताले विश्वास गरेका हुन् । इलामेली जनताले विश्वास गरे । तर, जनताले विश्वास गरेअनुसारको काम यी दुई नेताबाट हुन सकेन । इलामका जनताले खनाल र नेम्वाङबाट कुनै फाइदा हुने काम, राजनीतिक लाभ तथा अवसर कहिल्यै पाएको मैले चाहिँ देखिनँ । सधैं उनीहरूले मात्रै पाए । अरुलाई दिनुपर्छ भन्ने चेत उनीहरूमा कहिल्यै पनि आएन वा उनीहरूले चाहेनन् ।

प्रधानमन्त्री भएको र सभामुख भएको व्यक्तिबाट जिल्लामा विकासका काम होलान् भनेर जनताहरू लोभिए, जिताउँदै पठाए, तर केही पनि गर्न नसकेपछि यसपटकबाट इलामेली जनता भ्रममुक्त भएका छन् ।

नेपाली कांग्रेसका सक्षम नेता इलाममा नभएकै हुन् त ?

– सक्षम नेता नभएको म भन्दिनँ तर नेपाली कांग्रेसका नेताले चुनावमा नजितेकाले त्यस्तो अवसर नपाएका भने हुन सक्छन् । जिल्लामा एक से एक नेता छन् ।

तपाई सधैं इलामेली जनताको दुःखसुखमा रहिरहनु भएको छ, तर मतदाताले किन कम्युनिस्ट नेतालाई मात्रै जिताएर पठाउँछन् ?

– विडम्बना के छ भने जनताले दिन त दिए । तर, त्यो उनीहरूले पूरा गर्न सकेनन् । किनभने हिजो चुनावमा कम्युनिस्टहरूले पूरा गर्नै नसक्ने झुटा र फुस्रा आश्वासन जनतालाई दिएका थिए । तर, अहिले एउटा पनि कार्यान्वयन गर्न सकेनन् । इलामेली जनताले उहाँहरूलाई विश्वास र भरोसा पनि गर्नुभएको थियो । तर, दुई तीन वर्षको यो दौरानमा उहाँहरू र उहाँका पार्टीले गरेका कामहरू हेर्दा इलामका अधिकांश जनता अहिले मैले किन कम्युनिस्टलाई भोट दिएछु भनेर पछुताइरहेका छन् ।

कोरोना भाइरस महामारीका बेला तपाईले निकै धेरै सामाजिक कार्य गर्नुभएको रहेछ, इलामबाट काठमाडौं लैजाने, काठमाडौंबाट फेरि इलाम ल्याउने । यो कार्य कसरी सम्भव भएको छ ?

मैले अहिले मात्रै होइन यस्तो काम गरेको । धेरै पहिलेदेखि इलामेली जनताको सेवामा खटिँदै आएको छु । धेरै वर्षदेखि मलाई नागरिक समाजले सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान मिलेको छ । राम्रो काम गरेमा सबैतिरबाट स्याबासी पाइँदोरहेछ । समाजले हेर्ने दृष्टिकोणमा फरक पर्दोरहेछ । बैंकिङ कारोबार आफ्नो ठाउँमा छ, पेसा व्यवसाय आफ्नो ठाउँमा छ, ऋणपान गरेर पनि म जनताको सेवामा निरन्तर खटिने गरेको छु । यसले मलाई आनन्द दिन्छ । मलाई मज्जाले निद्रा लाग्छ । त्यसैले यो काममा मैले निरन्तरता दिइरहेको छु ।

कम्युनिस्ट पार्टीबाट देश चल्दैन भनेर सारा संसारले देखिसकेको छ । प्रधानमन्त्री केपी ओली शासनमा भ्रष्टाचार, हत्या, हिंसा, अराजकता बढेको छ । उहाँले संसद् नै विघटन गरिसक्नुभयो । यो तरिकाले देश कसरी चल्न सक्छ र ? चल्दैन ।

खनाल र नेम्बाङ देश चलाउने तहमा समेत पुगिसक्नु भएको छ, तर इलामका जनताका लागि के के गरे त ?

इलामका जनताले राज्यका महत्वपूर्ण ठाउँमा पुगेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउने गरेका छन् । तर, उनीहरूले इलामको सन्तकपुरदेखि चुलाचुलीसम्म हेर्दै जाँदा यहाँका जनताका लागि केही काम गरेको देखिएको छैन । झापामा वार्षिक १४–१५ अर्ब रुपैयाँ विकासका निम्ति बजेट आउँदा इलाममा एक डेढ अर्ब मुस्किलले पर्छ ।

सन्तकपुर जाने बाटो, माइपोखरी जाने बाटो, बिजुलीका पोलहरू पनि बनेको छैन । तपाई आउँदै गरेको माइखोलाको ३० वर्षअघिको बेलिब्रिज पुल एउटा गाडी गुड्दा थरर काम्छ । त्योसमेत बनाउन सकिएको छैन ।

माइखोलादेखि इलाम आउन १२ किलोमिटरको दूरी छ, त्यो पार गर्न डेढ घन्टा लाग्छ । इलाम बजार यो देशको सुनको टुक्रा जस्तो घुम्ने ठाउँ अहिले धुलाम्मे भएको छ । स्मार्टसिटी बनाउँछु भनेर उहाँहरूले दिएको गफ अहिलेसम्म पूरा भएको छैन । त्यसकारण उहाँहरूबाट इलाम र यहाँका जनताले केही पनि प्राप्त गरेका छैनन् । खालि उहाँहरूको उन्नति र प्रगति भएको छ ।

प्राकृतिक रूपमा इलामले धेरै सुन्दर ठाउँ पाएको छ । तर, त्यसलाई सजाउने काम उहाँहरूबाट भएको छैन । प्रधानमन्त्री भएको व्यक्ति, सभामुख भएको व्यक्तिबाट विकासका काम होलान् भनेर जनताहरू लोभिए, तर केही पनि गर्न नसकेपछि यसपटकबाट जनताहरू भ्रममुक्त भएका छन् ।

अन्त्यमा, तपाई निरन्तर समाजसेवा गरिरहनु हुन्छ, तपाईको समाजसेवा राजनीति गर्ने लक्ष्य हो कि के हो ?

– समाजसेवा भनेको समाजसेवा नै हो । यसले आत्मसन्तुष्टि दिन्छ । आउने पुस्तालाई केही काम गर्न प्रेरणा दिन्छ । समाजसेवालाई मानिसहरूले मागी खाने भाँडो पनि बनाएका छन् ।

तर, समाजसेवामा लागेको १० वर्ष बितिसकेको छ । त्यसैले समाजसेवा मेरा लागि सौख हो । राजनीति मेरो कर्म हो । मेरो उद्देश्य भनेको इलामेली जनता, नेपाली जनताको सेवा हो ।

मैले जतिलाई गर्छु वा एउटा मान्छेलाई सहयोग गर्छु त्यसले आउने पुस्ताले सम्झिउन्, शिक्षा पनि पाउन् । मैले पछि केही पाउँछु भन्ने सोचेको पनि छैन । विशुद्ध समाजसेवा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार