पाँचथर : फाल्गुनन्द-५,सिङ्हाङ्गका कृषक यतिबेला बर्खेआलु र मकै रोप्न व्यस्त छन् ।
हरेक बस्तीका युवाहरू आजभोलि रोजगारीको शिलशिलामा विदेश पलायन भएर गाउँघर सुनसान भइरहेको बेला सिङ्हाङ्गका कृषक भने परेलीमा जुटेर सिजन अनुसारको खेतीबाली लगाउन सक्रिय छन् ।
एक घरको काम सकिन साथ अर्काको गर्न दैनिक करिब २५ देखि ३० जना महिला तथा पुरुष समुह धुलोमाटाेमा काम गर्दा अत्यन्तै रमाइलो र दिन बितेको पत्तो नभई काम सम्पन्न हुने गरेको स्थानीय पञ्चकुमार चेम्जोङ बताउँछन् ।
पुरानो ग्रामीण चलन झैं प्रत्येक घरको काम पालैपालो गर्दा खेतीपाती लगाउन सहज हुने र यस्तो कार्यबाट आपसी सहयोगको भावना वृद्धि हुँदै स्थानीयको मिलेमतो बढ्ने,दुखसुख साटासाट हुँदा सामाजिक मेलमिलापको एक उदाहरणिय कार्य बन्दै गएको उनको भनाइ छ ।
हिउँदे समयमा लेकाली भेगतिर आलु र मकै खेती लगाएर आम्दानीको श्रोत जुटाउने चलन छ । यतिखेर रोप्ने आलुको बिउ प्रति किलो एक सय ५० रुपैयाँ सम्म मुल्य पर्छ । राम्रो उत्पादन हुँदा एक किलो बराबर पाँच देखि सात किलो सम्म फल्ने र सिजनमा ६० रुपैयाँ प्रति किलाका दरले बिक्री हुने आलु कृषकको आयस्रोतको मुख्य आधार समेत भएको छ ।
यस समयमा रोपेको आलु असार देखि उत्पादन शुरू हुने गर्दछ भने मकै भदौ सम्ममा पाक्ने उनीहरु बताउँछन् ।