‘पार्टीभित्रको विवाद मिलाउन नसकि प्रतिनिधि सभा विघटन गर्न पाइँदैन’

‘प्रधानमन्त्रीलाई अवराेध नहुँदा पनि विघटन गरिनु आपत्तिजनक’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमा सोमबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दोष सदन विघटन गर्न नपाइने जिकिर गरे ।

‘पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो, ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्प्रति उत्तरदायी नभएको ठहर्छ’, उनले भने ।

यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नसक्ने बताउँदै उहाँले संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न नमिल्ने तर्क दिए । ‘प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आर्गुमेन्ट (तर्क) पनि मिल्दैन’, उनले भने, ‘पार्टीभित्रको विवाद मिलाउन नसकि प्रतिनिधि सभा नै विघटन गरेर संसद्लाई पीडित बनाउन मिल्दैन । ताजा जनादेशमात्र भनेर हुँदैन ।’

रिट निवेदकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले चुनावमा जाने नागरिकको मनस्थिति नभएको जनाउँदै संविधानले प्रतिनिधि सभा विघटन अधिकार नदिएकाले मिल्ने भनि व्याख्या गर्न नमिल्ने जिकिर गरे । सत्तारुढ पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीले एकल निर्णयमा निर्दोष प्रतिनिधि सभा गर्न नपाइने तर्क पनि उनले दिए ।

सोमबार सुनुवाइ  ‘हेर्दाहेर्दै’ मा राखि फेरि मङ्गलबारका लागि तोकिएको छ ।

गएको पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ सुरु भइ क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनि यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि सोमबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो ।

यस विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गएको  पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले यस विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

गएको पुस १० गते संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखका तर्फबाट गएको पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार