काठमाडौं : नेपालले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरेको सात दिनभित्रै खोप कार्यक्रम शुरु गर्ने भएको छ । खोप ल्याउन विभिन्न देशसँग प्रयास भईरहेको भन्दै प्राप्ती भएको सात दिनभित्र कार्यक्रम शुरु गरिने भएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले देशभर अहिले रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने भएको छ ।
नेपालमा हाल माइनस दुई देखी माइनस आठ डिग्रीका एक करोड ७७ लाख खोपको डोज भण्डारण गर्ने क्षमता रहेको छ । यो क्षमतालाई बढाउने गरी सातै प्रदेश र केन्द्रमा भण्डारण क्षमता बनाइदै गरेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । ‘सातै वटै प्रदेश र केन्द्रमा एउटा÷एउटा भण्डारण केन्द्र बनाउने गरी काम गरिरहेका छौं’, उनले भने । कोभ्याक्सले दिने भनेको खोप पनि केही मात्रामा भण्डारण गर्ने क्षमता नेपालसँग रहेको छ ।
कोभ्याक्सले सम्भवत माइनस २० डिग्रीमा भण्डारण गरेर राख्नुपर्ने खोप दिने सम्भावना रहेको छ । सो अनुसार नेपालसँग तीन प्रतिशतलाई पुग्ने अर्थात ९ लाख ११ हजार खोप अटाउने भण्डारण केन्द्र रहेको सचिव अर्यालले जानकारी दिए । ‘माइनस २० डिग्रीको खोप लिनुपर्यो भनेपनि ३ प्रतिशत अर्थात ९ लाख ११ हजार जनालाई पुग्ने गरी भण्डारण गर्ने क्षमता छ’, उनले भने, ‘सो खोप फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिने छौं ।’
नेपालले खोप ल्याउन खोप उत्पादन वा परिक्षण गरिरहेका भारत, रुस र युनाइटेड अरब इमिरेट्ससँग छलफल समेत गरेको छ । नेपालले सबैभन्दा आश गरेको खोप भने कोभिडशिल्ड हो । जसका लागि भारत भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि थप सहमति गरेर फर्किने आशा गरिएको छ । यो खोप नेपालका लागि सुहाउदो रहेको बताइएको छ ।
स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि खोप चाडै आउनेमा विश्वस्त हुन आग्रह गर्दै निशुल्क रुपमा न्यायोचित तवरमा वितरण हुने दावी गरे । उनले कहिलेसम्म खोप आउछ भनेर यकिन साथ नभनेपनि फागुनमा आउन सक्ने भने संकेत गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा खोप कहिले आउछ ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ । यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ ।’
खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करीब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने मन्त्री त्रिपाठीले जानकारी गराए । ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरू यस कार्यक्रम परिचालन हुनेछन् । ‘खोप आउँछ । निश्चित रूपले हामी समयमै लगाउँछौं र यो अभियानका रूपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ । त्यसका अरु तयारीहरू भइसकेको अवस्था छ’, मन्त्री त्रिपाठीले भने, ‘भण्डारण हामीसँग पुग्दो छ । ढुुवानीको लागि पनि सुनिश्चित अवस्थामा पु¥याइसकेका छौं ।’
खोपको प्राप्ती अन्य व्यावसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रूपमा देखा परेकाले आपूर्तिमा समस्या भएको उनको भनाइ छ । नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दाबी गरे । खोपको खरीद प्रक्रियामा जे जति आशंकाहरू देखिएका छन् त्यसलाई झुटो सावित गर्ने पनि मन्त्री त्रिपाठीले बताए । सरकारले निजी क्षेत्रलाई पनि खोप विक्रि र वितरणमा सहज गराउने भएको छ । तर, पहिला सरकारले किनेपछि मात्रै निजी क्षेत्रलाई खुल्ला गरिने मन्त्री त्रिपाठीको भनाई छ ।
औषधि व्यवस्था विभागका अनुसार हालसम्म निजीक्षेत्रबाट खोप ल्याउनेबारे कसैले पनि माग नगरेको बताएको छ । खोप ल्याउन निजी कम्पनीहरुले माग गरेमा विभाग तयारी अवस्थामा रहेको जनाएको छ । औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था भने गरिसकेको छ ।
तेस्रो चरणको परीक्षण नेपालमा
अस्ट्रेलियाली कम्पनी क्लोभर बायोफार्मसूटिकल्सले बेल्जियमको जीएसकेसँगको साझेदारीमा विकास गरेको खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि हुने भएको छ । पहिलो चरणको परीक्षण सम्पन्न भइसकेको, दोस्रो चरण सम्पन्न हुने क्रममा रहेको सो खोपको तेस्रो चरणको परीक्षण नेपालका दुई अस्पतालमा हुन लागेको हो ।
एउटा चिनियाँ कम्पनीको भगिनी संस्था रहेको क्लोभर बायोफार्मसूटिकल्सले उत्पादन गरेको यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण १२ देशका ३४ हजार मानिसमा गर्न लागिएको छ । त्यसमध्ये १, हजार ८०० जनामा परीक्षण नेपालमा गरिनेगरी तयारी अघि बढाइएको छ । सबै निकायबाट स्विकृति मिलेमा माघको मध्य वा फागुन शुरुबाट नेपालमा परीक्षण शुरु हुनेछ ।
कुल १ हजार ८०० परीक्षणमध्ये १ हजार २०० वटा शिक्षण अस्पतालले र बाँकी ६०० धुलिखेल अस्पतालले गर्ने तयारी रहेको बताइएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा सहभागी हुनका लागि १८ वर्षभन्दा माथिका स्वस्थ मानिसहरूको माग गरिनेछ । उनीहरूलाई स्वयंसेवकका रूपमा कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरिनेछ । परीक्षणमा सहभागी हुन चाहनेहरूको शरीरमा कुनै पनि किसिमको जटिल समस्या भएको भने हुनुहुँदैन ।
यो खोप दक्षिण कोरियाली इन्टरनेश्नल भ्याक्सीन इन्स्टिट्यूट (आईपीआई) उपलब्ध गराउनेछ । यसको खर्च पनि उसैले बेहोर्ने जनाइएको छ । खोप लगाएपछि स्वयंसेवकहरू आफ्नै घर जान पाउनेछन् । उनीहरूले स्मार्टफोनमार्फत् आफ्नो अवस्थाबारे नियमित रूपमा जानकारी गराउने व्यवस्था मिलाउने बताइएको छ ।