माङसेबुङ ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई (भिडियो सहित)

  नयाँ बुलन्द  586 पटक हेरिएको

इलाम इलामको माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयले पहिलोपटक सार्वजनकि सुनुवाई गरेको छ ।

वडा कार्यालयले संचालन गरेको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो ।

नागरिक र वडाको बीचमा दोहोरो सम्वाद स्थापित गरी जवाफदेहिताको संस्कार बसाउने र सार्वजनिक सेवा प्रवाह भरपर्दो र गुणस्तरयुक्त बनाउन नागरिकबाट रचनात्मक सुझाव लिने उदेश्यले शनिबार पहिलो पटक सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष मैतराज राईले वडाले हालसम्म गरेका मुख्यमुख्य विकास निर्माणका कार्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै सहजकर्ता राम योङहाङले सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने सेवाग्राहीको अभिमत (बहिर्गमन अभिमत), सेवा लिंदा अनुभव गरेका, भोगेका र देखेका कुराहरूलाई उल्लेख गरी पृष्ठपोषण गर्ने पद्धति (नागरिक प्रतिवेदन पत्र) अनुसारको प्रतिवेदन र नागरिक वडापत्रको आधारमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा १८ जना वडावासीले वडा अध्यक्षसामू विभिन्न गुनासो, जिज्ञासा र प्रश्नहरु राखेका थिए । उनीहरुले आफ्नो टोलमा सडक निर्माणका लागि बजेट विनियोजन नगरिएको, विद्युत विस्तारमा बजेट विनियोजन नगरिएको,   खानेपानी व्यवस्थापनमा ध्यान नदिएको, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुविकास कार्यक्रममा पर्याप्त बजेट विनियोजन नगरिएको, सबै लक्षित वर्गका कार्यक्रम र बजेट कटौती गरिएको, वडा कार्यालयको टुङ्गो नलागेको, योजना छनौट र उपभोक्ता समिति गठन गर्दा आम उपभोक्ताको भेला नगरिएको लगायतका विषयमा दर्जनौ गुनासो, प्रश्न र सुझावहरु राखेका थिए ।

वडा अध्यक्ष राईले नागरिकहरुबाट प्राप्त भएका सुझाव तथा गुनासाहरूलाई ग्रहण गरी अगामी दिनहरूमा यथासम्भव सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

३ नम्बर वडा कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द आवाज मिडिया प्रा.लि. इलामले गरेको थियो । यो कार्यक्रम माङसेबुङ गाउँपालिका र वडाहरुमा पहिलो कार्यक्रम हो । हालसम्मा माङेबुङ गाउँपालिका र अन्य वडाले संचालन गरेको छैन ।

कार्यक्रमको स्वागत र औचित्य वडा सदस्य इन्द्रबहादुर लिम्बू र संचालन बुलन्द आवाज मिडिया प्रालिका प्रतिनिधि अतित योङहाङले गरेका थिए । कार्यक्रममा १ सय ९ जना वडाबासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्जबाट भएको थियो ।

के हो सार्वजनिक सुनुवाई ?

स्थानीय तहहरूले प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा स्थानीय तहका पदाधिकारीहरू तथा सरोकारवाला नागरिक बीच सार्वजनिक स्थानमा गरिने खुला छलफल नै सार्वजनिक सुनुवाई हो । यस किसिमको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवद्र्धन गर्दछ । यसबाट सार्वजनिक वस्तु, सेवा र विकास निर्माणका कृयाकलापहरू जनअपेक्षा बमोजिम सञ्चालन गर्ने संस्कारको विकास गर्न समेत टेवा पुग्दछ ।

सार्वजनिक सुनुवाइले जिम्मेवार पदाधिकारीहरूलाई सार्वजनिक वस्तु, सेवा र सुविधाको बारेमा सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गर्ने अवसर प्रदान गरी कमी कमजोरीहरू सच्याउन मद्दत गर्दछ । यसरी सार्वजनिक सुनुवाइले जिम्मेवार पदाधिकारीहरूलाई निरन्तर नागरिकहरूप्रति जवाफदेही हुन र पारदर्शी रुपमा शासन सञ्चालन गर्न समेत उत्साहित गर्दछ । सार्वजनिक सुनुवाइमा सार्वजनिक चासोका बिषयमा जिम्मेवार पदाधिकारी तथा सेवाग्राही बीच प्रश्नोत्तर हुनुका साथै सेवाग्राहीले सार्वजनिक वस्तु, सेवा र सुविधा प्रवाहमा आगामी दिनमा गरेका सुधारहरू समेत प्रष्फुटित हुने र जिम्मेवार पदाधिकारीहरूबाट उक्त सुधारहरू हासिल गर्ने संभावनाहरूको बारेमा जानकारी प्रदान गर्ने प्रकृयाबाट सुधारका प्रतिवद्धताहरू समेत तयार हुन्छ । यसरी तयार भएको प्रतिवद्धता कार्यान्वयनबाट नै सुधारको अपेक्षा गर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार