इलाम : नेकपा जिल्ला कमिटी इलामको पुर्ण बैठक बारेमा अध्यक्ष र सचिव बिच अन्तरबिरोध देखिएको छ । राष्ट्रिय राजनितिमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओली समुहबिच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो ।
प्रचण्ड निकट मानिने सचिव सोममाया राई सिन्धुले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पुर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष राम मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अनुरोध गरेका छन् ।

पछिल्लो पटक ओलीले विस्तार गरेको कमिटीको केन्द्रिय सदस्य रहेका मगरद्धारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ‘ भोली मिती २०७७/०९/१७ गतेका दिन बैठक भनेर भ्रामक ढंगले निमन्त्रणा गरिरहेको सन्नमा आएको हुँदा भोली पार्टीको जिल्ला कमिटीको बैठक नरहेको र त्यसप्रकारका कुनै पनि पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुनको लागि पार्टी जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य कमरेडहरुमा अनुरोध गर्दछु ।’
जिल्ला कमिटीका पदाधिकारीहरु समेत दुवै समुहमा बाडिएका छन् । केही पदाधिकारीहरु झलनाथ खनाल रहेको प्रचण्ड समुहमा रहँदा केही सुवास नेम्बाङ रहेको ओली समुहमा विभाजित हुन पुगेका छन् । प्रधानमन्त्रीको असंबैधानिक कदमपछि दुवै गुटका कार्यकर्ताहरुले जिल्लामा गतिविधि सक्रिय बनाएका छन् ।
प्रचण्ड–नेपाल–खनाल गुटका कार्यकर्ताहरु प्रधानमन्त्रीको कदमका विरोध जुलुस गरिरहँदा ओली निकट कार्यकर्ता फकाउने जिल्लाका विभिन्न क्षेत्रमा भेला र छलफल आयोजना गरिरहेका छन् । जसको प्रभाव स्थानीय तहमा पर्न थालेको छ ।
























































