काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर गर्नुभएको छ । आफु पक्षीय सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको बुधबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
संविधान अनुसार नै प्रतिनिधिसभा विघटन गरेकाले अब संसद पुनःस्थापना हुन नसक्ने उहाँको छ । आफु बहुमत प्राप्त दलको नेता भएर प्रतिनिधिसभा विघटन सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब विघटित संसद पुनःस्थापना नहुने उहाँले दावी गर्नुभयो ।
नेकपाको अर्को समुहले प्रतिनिधिसभा पुनःस्थापनाको लागि सडक आन्दोलन गरिरहेको बेला प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नहुने दावी गर्नुभएको हो ।
दाहाल (प्रचण्ड) र नेपाल समुहले आफुलाई काम गर्न नदिएको कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको भन्दै प्रधानमन्त्री ओलीले संसद विघटनले गणतन्त्र, लोकतन्त्र र संविधान लगायतका उपलब्धिमाथि कुनै खतरा नभएको जिकिर गर्नुभयो ।
पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको भन्दै नेकपा अध्यक्ष समेत रहनुभएका ओलीले अब कति सम्झौता गर्ने भन्दै प्रश्न गर्नुभयो ।
दाहालको ध्यान जहिल्यै पनि कसरी पार्टी कब्जा गर्ने भन्नेमा रहेको आरोप लगाउँदै ओलीले प्रचण्डलाई धुँदाधुदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दाहाललाई युद्धकालमा साथ दिएका तर अहिले दुःख, पीडा भोगिरहेका सयौँ कार्यकर्ताहरु कता गए भन्दै प्रश्न गर्नुभयो ।
दाहाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाहालको मामुली कार्यकर्ता भएको समेत टिप्पणी गर्नुभयो ।
उहाँले दाहाल–नेपाल समुहलाई सडकमा तमासा देखाउनुको सट्टा निर्वाचनमा भाग लिएर केही सिट भएपनि ल्याउन आग्रह गर्नुभयो । अगुवा कार्यकर्ता भेलामा नेताहरु लेखराज भट्ट, प्रेम आलेलगायतले सम्बोधन गरेका थिए ।