माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो ।
पुस ८ देखि १३ गतेसम्म सबै वडामा शिविर संचालन हुँदैछ । विशेषज्ञ डाक्टरसहितको टोलिले सम्बन्धित वडामा नै गएर अपाङ्गता परिचयपत्र वितरण गर्न लागिएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
गाउँपालिकामा बोलाएर भन्दा वडावडामा नै पुगेर अपाङ्गताहरुलाई परिचयपत्र विरतण गर्दा सेवाग्राहीलाई सहज हुने भएकाले शिविर संचालन गर्न लागिएको इदिङ्गोले बताए ।
गाउँपालिकाले ८ गते वडा नम्बर १ को वडा कार्यालयमा, ९ गते वडा नम्बर ३ को चतुरेमा, १० गते वडा नम्बर ४ को वडा कार्यालयमा, ११ गते वडा नम्बर ५ को भालुटारमा, १२ गते वडा नम्बर ६ को चिसोपानी पंचमी बजारमा र १३ गते वडा नम्बर २ को वडा कार्यालयमा शिविर संचालन हुनेछ ।
शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएकाहरुको परिचयपत्र प्रतिस्थापन गरेर नयाँ वितरण गरिने र नयाँ अपाङ्ता भएका व्यक्तिलाई नयाँ परिचयपत्र वितरण गरिने गाउँपालिकाका कर्मचारी युवराज दाहालले जानकारी दिए । उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।
शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुलाई आफ्नो परिचयपत्र अनिवार्य ल्याएर आउन अनुरोध समेत गरेको छ ।

















































