सैनिक मुख्यालयमा प्रमुख सैनिक अधिकृतहरुको सुरक्षा बैठक

  नयाँ बुलन्द
0 Shares

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्‌बाट संसद् विघटन गर्ने प्रस्ताव अघि बढाएसँगै नेपाली सेनाले आफ्नो मुख्यालय जंगी अड्डा भद्रकालीमा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक बोलाएर उक्त कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा छलफल गरेको छ ।

साथै, प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना आठवटै पृतनापतिहरुसँग भिडियो कन्फरेन्समार्फत् हरेक प्रदेश र क्षेत्रको सुरक्षाको अवस्थाबारे पनि जानकारी लिएका छन् ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले उक्त बैठक सेनाको नियमित भए पनि अहिले भएको घटना र मुलुकको सुरक्षाको विषयमा समेत प्रमुख सैनिक अधिकारीहरु बीच छलफल भएको कान्तिपुरलाई जानकारी दिए ।

‘यो बैठक नियमित प्रक्रिया हो । आन्तरिक नीति र नियमहरुकै बारेमा छलफल हुन यी बैठक नियमित रुपमा हुने गर्छन् । तर विकसित घटनाक्रमको बारेमा पनि छलफल भएको छ,’ उनले भने,‘नयाँ घटनाक्रमबाट उपत्पन्न हुन सक्ने सुरक्षा चुनौती नै हाम्रो चासो हो । अन्य राजनीतिक र संवैधानिक कुराको विषयमा हाम्रो चासो भएन ।’

उनले नयाँ घटनाक्रमसँग मुलुकमा आउन सक्ने सुरक्षा चुनौतिको लागि नेपाली सेनाले सार्वजनिक सुरक्षा ऐन–२०२८ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्ने बताए ।

प्रधानसेनापतिले यसअघिको विभिन्न पृतनाहरुको भ्रमणका दौरान पनि स्थानीय अधिकारीहरुसँग मिलेर सुरक्षा दिन सहयोग गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताए । उनले अहिले पनि आवश्यक परे नेपाली सेनाले स्थानीय प्रशासनलाई सहयोग गर्ने बताए ।-कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार