वर्तमान कम्युनिष्ट सरकार पञ्चायत भन्दा बदनामी : पूर्व मन्त्री चेम्जोङ

  नयाँ बुलन्द
0 Shares

इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् ।

शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको दावी गरे । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओली सरकारले भ्रष्टाचार र कमिसनको खेलमा अन्तर्राष्ट्रियस्तरमै रेकर्ड बनाएको भन्दै चेम्जोङले सरकारको आलोचना समेत गरे ।

अब पार्टी समायोजन प्रकृया सकिए लगत्तै हामी भ्रष्ट ओली सरकार विरुद्ध आन्दोलनमा जाने समेत उनले बताए । हिजोका दिनमा कांग्रेस र कम्युनिष्टको विकल्प नरहे पनि अब मुलुकको लागि नयाँ विकल्पका रूपमा जसपा अघि आएको चेम्जोङले जिकिर गरे । सुशासन, विभेदको अन्त्य, पहिचानको प्रत्याभूति र राज्यका सबै अङ्गमा नेपाली समाजको बनोट अनुसारको समावेशी प्रतिनिधित्वको ग्यारेन्टी जसपाको मूल लक्ष्य रहेको समेत उनले बताए ।

जसपाले १० जोड १ को मुद्दा छोडेको हो त ? भन्ने सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चेम्जोङले पार्टीको लक्ष्य १० जोड १ सहितको सङ्घीय प्रदेश ल्याउने नै रहेको स्पष्ट पार्दै संविधान संशोधन गरेर लक्ष्यमा पुग्ने बताए ।

प्रेस नेपाल, प्रदेश १ का अध्यक्ष फिपराज बेघाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारीणी सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य दिपक मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रदेश १ प्रदेश सभाका संसदिय दलका नेता जयराम यादव, उमेश थापा लगायतका नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार