पाँचथर : फाल्गुनन्द गाउँपालिकामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक कार्यक्रम गरि मनाइएको छ ।
विश्वको मुख्य साझा समस्या बन्दै आएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सहायता पुर्याउने उदेश्यका साथ नेपालमा पनि मनाइँदै आएको उक्त दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम सहित मनाइएको कार्यालयका सुचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए ।
कार्यक्रममा गैरसरकारी संस्था पाँचथरका अध्यक्ष नन्द नेम्बाङले तयार गरेको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको सन्दर्भ तथा अवधारणा-पत्र स्वयंले प्रस्तुत गरेका थिए।
अवधारणा पत्रमा भ्रष्टाचारको परिभाषा,नेपालमा भ्रष्टाचार निवारणका लागि नीतिगत अभ्यास संरचना,स्थानीय तहमा भ्रष्टाचारको अवस्था,महालेखा परिक्षकको गत आर्थिक वर्षको प्रतिवेदन,ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन,भ्रष्टाचार नियन्त्रणका उपायहरु लगायतको बारेमा अध्यक्ष नेम्बाङले बाचन गरेपछि अन्तरक्रिया समेत गरिएको थियो।
महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार देशभर पाँच प्रतिशत भन्दा कम बेरुजु हुने चार सय ६८,पाँच देखि १५ प्रतिशत बेरुजु हुने दुई सय ४५ र १५ भन्दा बढी बेरुजु हुने स्थानीय तह ३० वटा रहेको जनाएको छ ।
त्यस्तै,ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१५ को प्रतिवेदन अनुसार भ्रष्टाचार हुने मुलुक एक सय ६८ राष्ट्रमध्ये नेपाल एक सय ३० औं स्थानमा रहेकोे छ ।
उक्त प्रतिवेदनमा न्यून मात्रामा भ्रष्टाचार हुने देशको सुचीमा नर्वे,स्वीडेन,स्वीजर ल्याण्ड,नेदरल्यान्ड,सिंगापुर,अस्ट्रेलिया,क्यानाडा रहेका छन् भने उच्च भ्रष्टाचार हुनेमा सोमालिया,उत्तर कोरिया,बंगलादेश,अफगानिस्तान र नेपाल पर्दछ्न् ।दक्षिण एसियामा कम भ्रष्टाचार हुने देश भुटान परेको छ ।६८ अंङ्क प्राप्त गरि २५ औं स्थानमा छ । ८० औं स्थानमा परेका भारत र चीनले ४१ अंङ्क प्राप्त गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देेेम्वेको अध्यक्षता तथा अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पार्टी प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो ।