काठमाडौँ : लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोलेको छ । बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन गरेको हो ।
सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ ।
न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।
यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।
परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।
यस्तो ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जना रहेको छ ।
विज्ञापन खुलाए पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ । परीक्षा केन्द्र भने प्रथम चरणको लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ भने द्वितीय चरणको लागि आयोगका धनकुटा काठमाडौँ, पोखरा,जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित भएको हो ।
हेर्नुहोस् विज्ञापन :