काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवन बुद्धको हजार मुर्ति स्तुपा नहटाइने बताएका छन् । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताउनु भएका हुन् ।
उनले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मुर्ति स्तुपा जोगाउँनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताए । उनले भने, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मुर्तिको स्तुपा जोगाउँनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ ।’
उनले सरकार विभिन्न समुदायको संस्कृती संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताए । उनले भने, ‘यो सरकार नयाँ संविधानद्धारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडी बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहान्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतीको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ उनले मुलुकको विविध सस्कृती सामाजिक सम्पती रहेको समेत उल्लेख गरे ।
मन्त्री नेम्बाङ्गले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचिमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताए ।
उनले सडक विस्तार गरिदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताए ।
समुदायको भावना र संवदेनशिलतासंग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासंग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उनले जानकारी दिए ।
उनले बुद्धमार्गीहरु, बुद्ध धर्मलम्वीहरु स्वभावैले सिर्जशल, सकारात्क र शान्तिपूर्ण चरित्र र मनसायको हुने भन्दै प्रशंसा गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भु जस्ता सम्पदाहरु सरकारले नै विश्वसम्पदा सूचिमा सुचिकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताए ।
त्यस्तै स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राखेका थिए ।
काठमाण्डौ चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोविखोला ११ दशमलव ६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।