इलाम : सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि साेमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले साेमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।
यता इलाममा ७ स्थानीय तहमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको सोमबार एकैदिन शिलान्यास भएको छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा अस्पतालन निर्माण हुन लागेको हो ।
जिल्लाको सूर्योदय, देउमाई र माई नगरपालिका तथा चुलाचुली, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा अस्पताल निर्माण हुन लागेको हो । सूर्योदय नगरपालिकाको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकी र माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो ।
सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकाको पूर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद झलनाथ खनालले शिलान्यास गरे । देउमाई नगरपालिकाको नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले शिलान्यास गरे ।
चुलाचुली गाउँपालिकाको भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले शिलान्यास गरे । फाकफोकथुम गाउँपालिकाको प्रदेश सांसद धिरेन्द्र शर्मा रमण र माईजोगमाईको प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले शिलान्यास गरे ।
एक स्थानीय तहमा आधारभूत अस्पताल बनाउनको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढाएको हो । सरुवा रोगका बिरामीलाई प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।
७ सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा ३ सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।