
रोङ : जिल्लाको रोङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह ६-८ र माध्यमिक तहका प्रधानाध्यापक र लेखा कर्मचारीहरूलाई लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी तीन दिने तालिम आइतबार सकिएको छ ।
शुक्रबारदेखि सञ्चालन भएको तालिमको उद्घाटनका अध्यक्ष सरस्वती माध्यमिक विद्यालय रोङ ४ भालुझोडाका प्रधानाध्यापक प्रेमबहादुर राई, प्रमुख अतिथि रोङ गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई रहेका थिए । तालिमको समिक्षा शान्ति निकेतन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले गरेका थिए भने तालिमको सहजीकरण आन्तरिक लेखा प्रमुख सूर्योदय नगरपालिकाका प्रदिप चापागाईं, प्रमुख प्रशासन तथा जिन्सी रोङका नेत्रप्रसाद पोख्रेल र लेखा अधिकृत रोङका उर्मिला निरौलाले गरेका थिए ।
तालिममा सहभागी प्रधानाध्यापक र कर्मचारीलाई नेपालको संविधान , सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४, भ्रमण खर्च नियमावली, एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र ब्याख्या जस्ता विषयको तालिम प्रदान गरिएको रोङ शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रुतिकुमारी तामाङले जानकारी दिएकी छिन् ।
तालिमको अन्तिम दिन समापनमा माध्यमिक तह प्रधानाध्यापकको तर्फबाट बहुबन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन दाहाल, आधारभूत तह ६-८ को तर्फबाट ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दलाल शिवाकोटी र विद्यालय कर्मचारीको तर्फबाट शान्तिपुर माध्यमिक विद्यालयका कर्मचारी राजकुमार प्रधानले आ-आफ्नो धारणा राखेका थिए । यस्तो तालिमबाट धेरै कुराहरू सिक्ने अवसर मिलेको र फलदायी भएको सहभागीले जनाएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको तालिमको समापन कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्रुतिकुमारी तामाङले सञ्चालन गरेकी थिइन् ।
























































